गैँडाकोटलाई क्षयरोग मुक्त बनाउन प्रतिवद्ध छौँ : संयोजक नारायण सापकोटा

२०८१ बैशाख १८ मंगलबार १८:३३:०० मा प्रकाशित

गैँडाकोट नगरपालिका गण्डकी प्रदेशमा नै तेस्रो र जिल्लामा नै सबैभन्दा बढी क्षयरोगी रहेको पालिका हो । पोखरा महानगरपालिका पहिलो स्थानमा, बडिगाड गाउँपालिका दोस्रो र त्यसपछि गैँडाकोट नगरपालिका तेस्रो स्थानमा पर्छ । यहाँ क्षयरोगीको सङ्ख्या बढी रहेको र उत्तिकै जोखिम पनि रहेको छ । गैँडाकोटमा यस आर्थिक वर्षमा ९२ जना क्षयरोगीको पहिचान भइसकेको छ । उनीहरुले औषधी समेत सेवन गरिरहेका छन् । गतवर्ष गैँडाकोटमा १२९ क्षयरोगीको पहिचान भएको थियो । क्षयरोग मुक्त अभियान सञ्चालन गर्न गैँडाकोट प्रतिवद्ध रहेका कारण पनि गैँडाकोटमा यो अभियान सञ्चालन भइरहेको छ । यसैसन्र्दभमा हामीले गैँडाकोट नगरपालिकका क्षयरोग मुक्त अभियानका संयोजक नारायण सापकोटासँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, समाचार सम्पादक प्रेम क्षेत्रीले गर्नुभएको कुराकानीको सम्पादित अंशः

 गैँडाकोटमा सञ्चालित क्षयरोग मुक्त अभियान कस्तो अभियान हो ?   

क्षयरोग मुक्त अभियान देशव्यापी सञ्चालित अभियान हो । देशभर रहेका ७५३ पालिका मध्ये १२५ वटा पालिकामा यो अभियान सञ्चालनमा रहेको छ भने गण्डकी प्रदेशका ८५ वटा पालिका मध्ये १६ वटा पालिकामा यो अभियान चलिरहेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका ८ वटा पालिका मध्ये २ वटा पालिका देवचुली र गैँडाकोट छनोटमा परेका छन् । त्यही अनुसार हामीले अभियान सञ्चालन गरेका हौँ । 

यो अभियान अन्तर्गत के काम भइरहेका छन् ? 

हाल गैँडाकोटमा नगरभरका प्रत्येक वडामा सुक्ष्म योजना निर्माण गर्ने काममा जुटेका छौँ । यो अभियान अन्तर्गत नगरपालिका स्तरीय समिति गठन भइसकेको छ भने अभिमुखिकरण सम्पन्न भइसकेका छन् । ६ वटा वडामा वडा स्तरीय सुक्ष्म योजना पनि तयार गरिसकेका छौँ । वडा अध्यक्षहरुको संयोजकत्वमा क्षयरोग मुक्त वडा समिति गठन गरिएको छ । स्थानीयका तर्फबाट खोज पड्ताल कार्यक्रम सञ्चालन गर्न १ जना स्वयम्सेवक चयन गरिएको छ । 

गैँडाकोट नगरपालिका नै किन छनौटमा परेको हो ?

गैँडाकोटमा क्षयरोगीका बिरामी एकदमै बढी छन् । गैँडाकोट नगरपालिका गण्डकी प्रदेशमा नै तेस्रो र जिल्लामा नै सबैभन्दा बढी क्षयरोगी रहेको पालिका पनि हो । पोखरा महानगरपालिका पछि बडिगाड गाउँपालिका र त्यसपछि गैँडाकोट नगरपालिका धेरै क्षयरोगी रहेका छन् । बढी सङ्क्रमित पनि रहेको उत्तिकै जोखिम पनि रहेको छ । त्यसमाथी क्षयरोग मुक्त अभियान सञ्चालन गर्न हामी प्रतिवद्ध रहेका कारण पनि यहाँ यो अभियान सञ्चालन भइरहेको छ । नगर प्रमुख मदनभक्त अधिकारीले यस विषयमा प्रतिवद्ध रहेको पत्र पठाएपछि पनि हामी छनौटमा परेका हौँ । यसले नगर स्वस्थ राख्न सघाउ पुग्ने छ ।  

पहिचान बढी हो की सङ्क्रमण दर बढी छ ?

डब्लुएचओले देशभर ६९ हजार बिरामी रहेको अनुमान गरेको छ । तर अहिले ३८ हजारको हाराहारीमा मात्रै पहिचान भइरहेको अवस्था छ । गैँडाकोटमा १९२ जना पत्ता लगाउनुपर्ने दर छ । त्यो पत्ता लगाउन सकिएको छैन । पत्ता लागेको दर हेर्दा अन्य पालिका भन्दा यो अगाडी नै रहेको छ । वास्तविकता पत्ता लगाउन पनि हामिले यो अभियान सञ्चालन गरिरहेका छौँ । 

गैँडाकोटमा अहिले क्षयरोगका कति बिरामी छन् ?

गतवर्ष गैँडाकोटमा १२९ बिरामीको पहिचान भएको थियो । गैँडाकोटमा यस आर्थिक वर्षमा ९२ जना बिरामीको पहिचान भइसकेको छ । उनीहरुले औषधी समेत सेवन गरिरहेका छन् । यो समय बढी बिरामी देखा पर्ने बेला पनि हो । चैत बैशाख जेठमा बढी फेला पर्ने भएकोले पनि हामिले त्यो लक्ष्य अनुसार पहिचान हुन्छ की भन्ने पनि छ । 

कसरी पहिचान गरिरहनुभएको छ ।  

अहिले गैँडाकोटका तीन ठाउँमा खकार परीक्षण हुने गरेको छ । गैँडाकोटको गैँडाकोट स्वास्थ्य चौकी, गैँडाकोट नगर अस्पताल र अमरापुरी स्वास्थ्य चौकीमा खकार परीक्षण हुने गरेको छ । त्यसबाहेक खोजपड्तालका माध्यमबाट पनि पहिचान गरिरहेका छौँ । जोखिममा रहेको र सम्भावित क्षेत्रमा गएर नै परीक्षण गरिरहेका छौँ । अर्को क्षयरोगका बिरामीको कन्ट्रयाक टे«सिङ गरेर उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको पनि परीक्षण गरेका छौँ । अन्यत्रबाट समेत बिरामी यहाँ औषधी सेवनका लागि आउने गर्नुभएको छ । भनेको गैँडाकोटबासी जो भरतपुरका विभिन्न अस्पतालमा पहिचान भएकाहरु पनि यँही आउने गर्नुभएको छ । 

यो अभियान कहिले सम्म सञ्चालन हुन्छ ?  

यो अभियान यसै आर्थिक वर्षबाट यहाँ शुरुवात भएको हो । यो पाँच वर्षे अभियान हो । पाँचवर्ष सम्म हामिले यसलाई सञ्चालन गर्ने छौँ । यो बीचमा विभिन्न क्रियाकलाप सञ्चालन पनि हुने छ । 

नागरिकबाट तपाईंहरुको अपेक्षा के छ ? 

हामी १८ वटै वडामा पुग्नेछौ । हरेक नगरबासी, टोलका अध्यक्ष, संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवाहरुसँग हामी पुग्ने छौँ । यो बीचमा जोखिम क्षेत्र पहिचान गरेर हामीले जनचेतना पनि फैलाउने छौँ । खोजपड्ताल गर्ने छौँ । धेरै भन्दा धेरै पहिचान गरेर उपचारको दायरामा ल्याउन हामी तल्लिन छौँ । उनीहरुको पहिचान गरेर औषधी उपलब्ध गराउने र क्षयरोग मुक्त बनाउन हामी जुटेका छौ । तर स्वास्थ्यकर्मीको एक्लो प्रयासले मात्र यो सम्भव छैन । समुदायका हरेक व्यक्ति, नागरिक समाज, जनप्रतिनिधि सबैलाई समेटेर सबैको सहयोगले यो अभियानले सार्थकता पाउँछ भनेर लागेका छौँ । सबैको साथ र सहयोगको अपेक्षा गरेका छौँ ।