शिक्षकहरूलाई पेशाप्रति वफादार हुन शिक्षक संघको आग्रह 

२०८० माघ २८ आइतबार ०६:०४:०० मा प्रकाशित

गैँडाकोट । नेपाल शिक्षक संघ बुलिङटारको प्रतिनिधि सभा शनिवार सम्पन्न भएको छ ।

सभामा बोल्दै नेपाली काँग्रेस बुलिङटारका सभापति ओमकुमार श्रेष्ठले शिक्षकहरूलाई पेशाप्रति वफादार रहँदै ट्रेड युनियन अधिकारको उपयोग गर्न आग्रह गर्नुभएको छ । नवलपुर जिल्ला शिक्षक संघका फोकल पर्सन एवम् नेपाल शिक्षक संघ गण्डकी प्रदेश सदस्य गोविन्द रिमालले शिक्षक संघको मर्म र आदर्शलाई आत्मसाथ गर्दै संगठनात्मक विकासमा लाग्न आग्रह गर्नुभयो । उहाँले सहभागीहरूको जिज्ञाशासमेत समाधान गर्नुभएको थियो ।

बुलिङटारका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धप्रसाद रानाभाटले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक संघसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका सदस्य डिल्लीराज घिमिरे, शिक्षक महासंघ जिल्ला सदस्य मनप्रसाद रानाभाटलगायतले शुभकामना व्यक्त गर्नुभएको थियोे ।

सचिव खेम सुस्लिङको सहजीकरण रहेको सो कार्यक्रममा उपाध्यक्ष यमुना सोमैको स्वागत मन्तव्य रहेको थियोे । कार्यक्रम नेपाल शिक्षक बुलिङटारका अध्यक्ष ऋषिश्वर बकवालको अध्यक्षतामा सम्पन्न भएको हो ।