साझा चौतारीका रुपमा गैँडाकोटमा सहकारी समन्वय मञ्च दर्ता 

२०८० माघ २२ सोमबार २१:२९:०० मा प्रकाशित

गैँडाकोट । सहकारीको मुल्य, मान्यता, सिद्धान्त अनुरुप गैँडाकोट नगरपालिकालाई सहकारी ग्रामको रुपमा विकास तथा स्थापित गर्न, सहकारीहरुबीच पारस्परिक सहकार्य गर्दै समन्वयकारी भूमिका निर्वाह गर्न गैँडाकोटमा स्थापना भएको सहकारी समन्वय मञ्च ऐन अनुरुप दर्ता भएको छ ।

गैँडकोटको सहकारी ऐन बनेसँगै ऐनमा समेत मान्यता दिइएसँगै सोही अनुरुप दर्ता भएको हो । गत भदौ १६ गते बसेको दोस्रो भेलाले प्रेमप्रसाद सापकोटा ‘राजु’को अध्यक्षतामा ११ सदस्यीय तदर्थ सञ्चालक समिति गठन गरेको थियो । आवश्यक कागजात, बिनियम पेश गरेसँगै त्यसलाई सहकारी समन्वय मञ्च गैँडाकोट नामको सहकारी मञ्च दर्ता गरिएको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिनुभयो । सहकारी मञ्चलाई गैँडाकोट नगरपालिका क्षेत्र भित्र कार्यालय रहेका संघ, प्रदेश तथा नगरपालिका नियमनमा सञ्चालित सबै प्रारम्भिक सहकारी संस्थाहरुको छाता संगठनको रुपमा दर्ता गरिएको सहकारी हेर्दै आउनुभएका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिनुभयो । 

गैँडाकोटमा यसअघि २०६१ सालदेखी मोबाइल घुम्ती सुरु गर्दै मञ्चको रुपमा विस्तार भएको थियो । खेमराज सापकोटाको अगुवाइमा सहकारीका गतिविधि अघि बढाइएको थियो । मञ्चका संस्थापक अध्यक्ष सापकोटाले सहकारी अभियानलाई दिगो र गतिशिल बनाउने साझा चौतारीका रुपमा विकास गरिएको बताउनुभएको छ । सहकारीबीचको सहकार्य नमुना प्रस्तुत गर्दै सहकारी दर्पण प्रकाशन, सहकारी नगरको पहिचानका लागि २०७४ सालमा नै गैँडाकोट मौलाकालिका फेदीमा सहकारी स्तम्भ निर्माण लगायतका कार्य गर्दै आएको थियो । गैँडाकोटको सहकारी ऐन अनुरुप अहिले दर्ता भएको हो ।  

यसै साता गैँडाकोटको भर्गो कृषि सहकारी संस्था लिमिटेड खारेज गरिएको छ । गैँडाकोट नगरपालिकामा अझै तीन वटा सहकारी संस्था निष्क्रिय रहेका छन् । नगरपालिकाका अनुसार गैँडाकोट १८ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्था, गैँडाकोट ८ मा स्थापना गरिएको एभरेष्ट मौरी विकास सहकारी संस्था र गैँडाकोट १० मा स्थापना गरिएको प्रयास कृषि सहकारी संस्था निष्क्रिय छन् । 

निष्क्रिय तीन सहित गैँडाकोटमा ३६ वटा सहकारी रहेका छन् । स्थानीय तह अन्तर्गतका २५ वटा सहकारी, प्रदेश तहका ७ वटा र संघ मातहतका ४ वटा सहकारी रहेका छन् । 
हाल नगर क्षेत्रमा रहेका यी सहकारीको १८ अर्ब २२ करोड ८८ लाख बढी पूँजी परिचालनमा रहेको छ ।