सहमतिको २२ औँ वार्षिकोत्सव तथा २५ औँ साधारण सभा सम्पन्न

२०८० मङ्सिर ५ मंगलबार १६:४०:०० मा प्रकाशित


गैँडाकोट । समुदाय र मानवता विकासका लागि प्रतिबद्ध सहमति संस्था गैँडाकोटको २२ औँ वार्षिकोत्सव तथा २५ औँ साधारण सभा मंगलबार सम्पन्न भएको छ । 

कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सहमतिले स्थापनादेखि नै राम्रो काम गरेको र आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । समाजमा सकारात्मक प्रभाव पार्ने किसिमले काम गरेकोमा खुसी व्यक्त गर्नुभयो । 

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनालले नगरपालिका र सहमतिले आगामी दिनमा समाजमा बिभिन्न कार्यक्रममा हातोमालो र सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताउनुभएको छ । 

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष होमनाथ सुवेदीले संस्थागत अगुवाइमा विपन्न तथा आवश्यकतामा रहेका समुदायलाई सहयोग गर्न आर्थिक विकास र जीविकोपार्जन प्रवद्र्धन, सुशासन र पैरवी, वातावरण संरक्षण तथा विपद् जोखिम न्यूनीकरण र सिकाई, सिर्जनशिलता लगायतका क्षेत्रमा आफ्ना गतिविधिहरु गर्दै आएको बताउनुभयो । संस्थाले ५२ जिल्लामा ४ लाख ४६ हजार ७ सय २३ घरधुरीलाई प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पु¥याएको उहाँले जानकारी दिनुभयो ।  

यस्तै महासचिव बेलप्रसाद पौडेलले समुदायका लक्षित वर्गलाई केन्द्रमा राखेर सामाजिक रुपान्तरणका साथै सहज जीवनयापनका लागि स्रोत माथी पहुँच अभिवृद्धि गर्ने लक्ष्य राखेर विविध कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले महिला उद्यमशिलता, ग्रामिण महिला सहकारीको क्षमता अभिवृद्धि, समावेशी ग्रामिण परियोजना अन्र्तगत विभिन्न कार्यक्रम गरेको बताउनुभयो । 

कोषाध्यक्ष तारादेवी शर्माले साझेदारी र आन्तरिक गरि ३ करोड ५३ लाख ५० हजार ५ सय ६६ रुपैयाँको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । संस्था सञ्चालनका लागि आन्तरिक स्रोत र साझेदारी कार्यक्रम दुवै रहेको संस्थाका कोषाध्यक्ष शर्माले बताउनुभयो । उहाँले समुदायस्तरमा रहेर काम गर्ने हुनाले आन्तरिक रुपमा सवल बन्न आवश्यक भएकाले पनि आन्तरिक स्रोत जुटाउँदै गर्दै अघि बढेको बताउनुभयो । 

कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा टंकबहादुर थापा, रोमाया थापा र विशाल शर्मालाई सम्मान गरिएको थियो ।  
साथै कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने ८ जना विद्यार्थीलाई १० हजार रुपैँयाका दरले छात्रबृत्ति पनि प्रदान गरिएको संस्थाका अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिनुभयो । 

कार्यक्रम सञ्चालन सचिव बिमला खनालले गर्नुभएको कार्यक्रममा पूर्वअध्यक्ष करुणासागर सुवेदी, पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक भिमप्रसाद शर्मा, सदस्यहरु कमल सुवेदी, गोविन्दराज विनोदी लगायतको उपस्थिती रहेको थियो ।