तराईंमा आगामी पाँच दिनसम्म तातो हावा चल्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक/दुई स्थानमा मेघ/गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
देशको अधिकांश भू–भागको अधिकतम् र न्यूनतम तापक्रम् बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम् तथा न्यूनतम् तापक्रम वृद्धि भइरहेको छ । देशको तराई भू–भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ ।
काठमाण्डौ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराई भू–भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेको छ ।
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन र घरबाहिर ननिस्कन महाशाखाले आग्रह गरेको छ ।