बाढी प्रभावित क्षेत्रमा भीडीआरसीको पहलमा निःशुल्क स्वास्थ्य शिविर
नुवाकोट । विजय विकास स्रोत केन्द्र (भीडीआरसी) को पहलमा बाढी प्रभावित नागरिकका लागि नुवाकोटको विदुर नगरपालिका–१०, स्वाराडाँडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
नेपाल चिकित्सक संघ, विजय विकास स्रोत केन्द्र भीडीआरसी), अमेरिकेयर्स, अल नेपाल अस्पताल तथा विदुर नगरपालिकाको संयुक्त सहकार्यमा आयोजित शिविरमा बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी बेत्रावती हुँदै ल्याइएका १२५ जनाभन्दा बढी नागरिकले निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा स्वास्थ्य परामर्श प्राप्त गरेका छन् ।
स्वास्थ्य परीक्षणका क्रममा बाढी प्रभावित नागरिकमा मधुमेह, उच्च रक्तचाप, दीर्घ श्वासप्रश्वाससम्बन्धी समस्या (सीओपीडी) तथा टिबीको सम्भावित पुनः संक्रमणका समस्या देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
त्यस्तै, मेरुदण्ड तथा घुँडासम्बन्धी जटिल समस्या भएका बिरामीसमेत शिविरमा उपचारका लागि आएका थिए । बालबालिका तथा वयस्कमा ज्वरो र माथिल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमणका समस्या पनि उल्लेख्य रूपमा देखिएको जनाइएको छ ।
शिविरमा राष्ट्रिय ट्रमा सेन्टरका एमडीजीपी डा. सरोज गोहीवार, सिनियर मेडिकल अफिसर डा. सितेश यादव र डा. पुनम पाण्डे, नर्सिङ स्टाफ प्रितिका चौधरी, अल नेपाल अस्पतालका जनस्वास्थ्यकर्मी सुमन पौडेल, फर्मासिस्ट सुमन खड्कालगायत स्वास्थ्यकर्मी तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेको थियो ।
बाढीपछि प्रभावित समुदायमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिन थालेको अवस्थामा प्रभावित नागरिकको पहुँचमै पुगेर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको हो । शिविरले विपद्बाट प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा र आवश्यक परामर्श प्राप्त गर्न सहज भएको आयोजकको भनाइ छ ।
विपद्पछिको अवस्थामा प्रभावित समुदायलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अर्को केन्द्रमा समेत स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको भीडीआरसीले जनाएको छ । यसैबीच, सोही स्वास्थ्य टोलीले विदुरमै थप १८९ जनालाई स्वास्थ्य सेवा तथा परामर्श प्रदान गरेको जनाइएको छ ।