स्रष्टा विष्णु पन्थीको जेन्जीकी आमा कविता संग्रह लोकार्पण

२०८३ भदौ २७ शनिबार १९:१२:०० मा प्रकाशित

गैंडाकोट । स्रष्टा विष्णु पन्थी विनुको जेन्जीकी आमा कविता संग्रह शनिबार एक कार्यक्रमका बिच गैंडाकोटमा लोकार्पण गरिएको छ । गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा सन्चालित कार्यक्रममा साहित्यकार चूडामणि बन्धु प्रमुख अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा कविको कवित्व र कृतित्वमाथि समालोचनात्मक टिप्पणी विपीन पाठक र रञ्जना लामिछानेले गर्नुभएको थियोे । कृतिभित्र रहेका ५५ ओटै कविता सशक्त रहेका टिप्पणी उहाँहरूको रहेको छ । सरल, सुबोध्य र समसामयिक विषयवस्तुमा आधारित कविताहरू अत्यन्त मर्मस्पर्शी रहेका छन् । गत वर्षको जेन्जी विद्रोह र त्यसपछि उत्पन्न परिवेश, नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोणलाई कृतिले उजागर गरेको छ ।

कार्यक्रममा समीक्षक उदय अधिकारी, सष्टा मुना धनञ्जयले रचना पाठसहित शुभकामना मन्तव्य राख्नुभएको थियोे । नगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव रामप्रसाद अधिकारी र सदस्य लेखराम सापकोटाको सहजीकरण रहेको सो कार्यक्रममा कुलपति गोविन्दराज विनोदीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा लेखकले आफ्ना केही रचना पाठ गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।