मन्त्री रोशन बहादुर गाहाद्वारा पदभार ग्रहण 

२०७९ माघ ११ बुधबार १३:३१:०० मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन बहादुर गाहाले बुधबार पदभार ग्रहण गर्नुभएको छ ।

उहाँले पदभार ग्रहण गर्दै मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने सम्बन्धित विषयमा कानुन, कार्यविधि, निर्देशिका आदिको पहिचान गरी मस्यौदा तर्जुमा प्रक्रिया अघि बढाउने निर्णय गर्नुभएको छ । जसअनुसार उहाँले शान्तिसुरक्षा, प्रहरी प्रशासन, विपद् व्यवस्थापन, कारागार व्यवस्थापन, प्रदेश अनुसन्धान व्यूरो लगायतका कार्य जिम्मेवारीसँग सम्बन्धित विषयमा निर्माण गर्न आवश्यक कानुन, कार्यविधि, निर्देशिका आदिको पहचान गरी मस्यौदा तर्जुमा प्रक्रिया छिटो अगाडि बढाउने पहिलो निर्णय गर्नुभएको हो । 

पदभार ग्रहणपछि उहाँले मन्त्रालय परिसरमा फूलको बिरुवा रोप्नुभएको थिया । गण्डकीमा अर्थ मन्त्री बनाउने भनिए पनि उहाँलाई पछि गृह मन्त्रालयको जिम्मेवारी दिइएको गुनासो छ ।

नवलपुरबाट निर्वाचित मन्त्री गाहा २०७४ सालमा पनि चुनाव जितेर सांसद बन्नुभएको थियो । उहाँले सोमबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष मुख्यमन्त्री खगराज अधिकारीको उपस्थितिमा पद तथा गोपनीयताको सपथ लिनुभएको थियो ।