कोटीहोमस्थली पितौजीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुँदै 

२०७९ माघ ८ आइतबार १७:५८:०० मा प्रकाशित

गैँडाकोट । श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ गर्दैछ ।

आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गर्न लागिएको हो । यही माघ २३ गतेदेखि फागुन १ गतेसम्म कोटीहोम आश्रमको प्रागणमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलको प्रमुखवाचकत्वमा महायज्ञ हुने आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कण्डेल (राजु) ले जानकारी दिनुभयो ।  

वैदिक सनातन धर्म संस्कार, संस्कृति र सभ्यताका अनुसन्धाता ब्रह्मलीन योगी नरहरिनाथले विश्वशान्ति हेतु वि.सं. २०४५ सालमा कोटीहोम महायज्ञ लगाएको यस पवित्र स्थलमा महायज्ञ गर्न लागिएको आश्रमका पीठाधीश योगी खेचरनाथले बताउनुभयो । उहाँले महोत्सवमा ५ करोडसम्म आम्दानी र ८० लाख खर्चको अनुमान गरिएको बताउनुभयो । 

कोटीहोम आश्रम स्थल, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक, पर्यटकीय, ऐतिहासिक एवं संस्कृत शिक्षामैत्री सामाजिक सम्भावनाले भरिपूर्ण रहेको बताउँदै आयोजक समितिका महासचिव नरहरि सापकोटाले त्यसका लागि सबै जुट्नुपर्ने बताउनुभयो ।  

सप्ताह ज्ञानमयज्ञको महिमा र आश्रमको सङ्कल्प पूरा गर्न सबैलाई सहयोग गर्न प्रचार–प्रसार उपसमितिका संयोजक देविदत्त कण्डेलले आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा उपस्थित पूर्व प्रतिनिधि सभा सदस्य सत्य नारायण खनालले २०५५ सालमा आफु सुकुम्बासी आयोगको जिल्ला अध्यक्ष हुँदा धार्मिक वन बनाउन सफल भएको स्मरण गराउनुभएको थियो । 

गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसिले विगत सम्झदै कोटीहोमले गुरुकुल सञ्चालन लगायतका कार्यमा फड्को मारेको बताउनुभयो । 

पत्रकार सम्मेलनमा गैँडाकोटका नगर प्रमुख मदनभक्त अधिकारी, उप प्रमुख शान्ति कोइराला लगायत ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदी, १२ का वडा अध्यक्ष चक्रपाणी कँडेल लगायतको उपस्थिती रहेको थियो । 

करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक वन क्षेत्रमा कोटिहोम रहेको छ । यहाँ रहेको श्री योगि नरहरिनाथ आध्यात्म विज्ञान गितापाठशाला (योगी नरहरिनाथ संस्कृत विद्यापिठम्) मा समावेशी २४ जना बटुक आश्रीत छन् । आवासीय रूपमा उनिहरुलाई संस्कृत शिक्षा र आधुनिक शिक्षाको समन्वयात्मक शिक्षा निःशुल्क रूपमा प्रदान गरिएको छ । कक्षा ६ र ७ मा अध्ययनरत उनिहरुको शिक्षादिक्षा समेत समाजबाट उठेक सिदा वा उत्सवमा आउने भोजनबाट भरणपोषण चल्दै आएको छ । यहाँ ६ जना शिल्पकारसहित मगर, चेपाङ, तामाङ, माझि, ठकुरी, क्षेत्री समुदायका रहेका छन् । श्री सिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठन–पाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको छ । 

यहाँ धेरै अगाडिदेखि सञ्चालनमा रहदै आएको दुर्गाभगवती, गणेश, शिव आदि आराध्य देव–देवीहरूको पूजा–अर्चना हुँदै आएको छ । यहाँ करिब डेढ अर्ब लागतको गुरु योजना निर्माण गरिएको छ । स्थानीय, प्रदेश र संघीय सरकार समक्ष आश्रमले सहयोगका लागि योजना समेत पेश गरेको छ ।  

सप्ताह ज्ञानमहायज्ञका मूलभूत उद्देश्यहरु 

१. श्रीमद्भागवत सप्ताह ज्ञानमहाज्ञको आयोजना गरी वैदिक सनातन धर्म, संस्कार र संस्कृतिप्रति समाजमा सचेतना जगाउने किसिमले भागवत ज्ञानको प्रवाह गर्ने । 
२. पूर्वाधारविहिनमा सञ्चालन हुँदै आएको समावेसी गुरू संस्कृत विद्यापीठ सञ्चालनको लागि आवास भवन तथा विद्यापीठ भवन निर्माण गर्दै सञ्चालनमा ल्याउने ।
३. आवश्यक सुविधायुक्त अतिथि गृह (धर्मशाला) भवन निर्माण गरी सेवा सुविधा प्रदान गर्ने ।
४. गौ संरक्षण हेतु आधुनिक गौशालाको व्यवस्थापन गर्ने ।
५. गुरु गोरखनाथको मन्दिर भवन निर्माण गर्ने ।
६. सम्भव भएसम्म गुरुयोजनाका अन्य संरचना योग तथा प्राकृतिक चिकित्सालय भवन योग साधना केन्द्र आदिको निर्माण गर्दै जाने । 


यज्ञ सञ्चालन सम्बन्धी दैनिक कार्यक्रमः
 

विहान ४ः३० देखि ६ः०० बजेसम्म स्नानादि नित्यकर्म तथा योगाभ्यास 
बिहान ६ः०० देखि ७ः०० बजेसम्म देवार्चन, आरती, पुष्पाञ्जली आदि
बिहान ७ः०० देखि ८ः०० बजेसम्म जलपान एवं विविध तयारी
बिहान ८ः०० देखि ११ः०० बजेसम्म श्रीमद्भागवत पाठपारायण
दिउँसो १२ः०० मध्यान हरिनामसंकीर्तन
दिउँसो १ः०० बजेदेखि ४ः३० बजेसम्म संगीतमय भागवत कथाप्रवचन 
अपराह्न ४ः३० बजेदेखि ५ः३० बजेसम्म आरती, पुष्पाञ्जली एवं प्रसाद वितरण
सायं ५.३० बजेदेखि ७ः०० बजेसम्म भोजन प्रसाद ग्रहण 
सायं ७ः०० बजेदेखि ९ः०० बजेसम्म भजन कीर्तन 
रात्री ९ः०० बजे सयन

दातृ सम्मानक्रम

१. रु.१ देखि रु.५०० सम्मको दान दानपेटिकामा राख्ने
२. रु.५०१ देखि रु.५,००० सम्मका दातालाई नगदी रसिद प्रदान गर्ने । 
३. रु.५,००१ देखि रु.१०,००० सम्मका दातालाई धर्मपट प्रदानपूर्वक यज्ञ स्मारिकामा नाम प्रकाशन गर्ने 
४. रु.१०,००१ देखि रु.१५,००० सम्मका दातालाई गुरुचित्राङ्कित उपहार, सम्मानपत्र तथा यज्ञआयोजक मूल समितिको सदस्यता प्रदानपूर्वक माथिका सम्मान प्रदान गर्ने । 
५. रु.१५,००१ देखि रु.२५,००० सम्मका दातालाई फ्रेमयुक्त सम्मानपत्रसहित माथिका सम्मान प्रदान गर्ने । 
६. रु.२५,००१ देखि रु.५०,००० सम्मका दाताको यज्ञ स्मारिकामा दुईपुस्ते नाम प्रकाशनपूर्वक माथिका सम्मान प्रदान गर्ने 
७. रु.५०,००१ देखि रु.१ लाखसम्मका दाताको फोटो र तीनपुस्ते नाम यज्ञ स्मारिकामा प्रकाशनपूर्वक अक्षमालासहित माथिका सम्मान प्रदान गर्ने ।
८. रु.१ लाख १ देखि रु. २ लाखसम्मका दाताको दम्पतीको फोटो प्रकाशनपूर्वक माथिका सम्मानसहित सभानायकत्व प्रदान गर्ने ।
९. रु.२ लाख १ देखि रु. ५ लाखसम्मका दातालाई उक्त सम्मानसहित दाताको संक्षिप्त जीवनी प्रकाशन गर्ने ।
१०. रु. ५ लाख १ देखि रु.१० लाखसम्मका दातालाई उक्त सम्मानसहित दाताले दिएका पारिवारिक सदस्यहरूका फोटाहरू प्रकाशन गर्ने ।
११. रु.१० लाख १ देखि रु. २५ लाखसम्मका दातालाई उक्त सम्मानसहित दाताको अर्धपेजको जीवनी प्रकाशन गर्ने ।
१२. रु.५० लाखसम्मका दातालाई उक्त सम्मानसहित दाताको १ पृष्ठभरिको जीवनी प्रकाशन गर्ने ।
१३. रु.५० लाख भन्दा माथिका दातालाई समितिको तात्कालिक निर्णयानुसार विशेष सम्मान प्रदान गर्दै २ पृष्ठभरिको जीवनी प्रकाशन गर्ने ।