शैक्षिक गुणस्तरमा जोडदिदैँ अक्सफोर्ड सेकंडरी स्कुल

२०७९ माघ ६ शुक्रबार १८:४६:०० मा प्रकाशित

गैँडाकोट । अक्सफोर्ड सेकंडरी स्कुलले बार्षिक कार्यक्रम २०७९ सम्पन्न गरेको छ । बार्षिक कार्यक्रम अन्तरगत विज्ञान प्रदर्शनि, फुड फेस्टिबल एंव विविध सांस्कृतिक कार्यक्रम संचालन गरेको थियो ।  
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले अक्सफोर्ड गैँडाकोटकै चिनारी रहेको बताउनुभयो । बिद्यालयले नाम अनुसारनै शैक्षिक क्षेत्रको गुणस्तरलाई सुधार गर्दै जान आग्रह गर्नुभएको छ । 
अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रोफेसर इन्जिनियर हरिप्रसाद भण्डारीले बिद्यार्थीलाई पढाइमा मात्र नभई हरेक क्षेत्रमा अब्बल बनाउने गरी काम गरिरहेको बताउनुभयो । आगामी दिनमा देशका लागि दक्ष नागरिक उत्पादन गर्न अक्सफोर्डले कुनै पनि कसर बाकीं नराख्ने उहाँको भनाई छ । 
त्यस्तै गैंडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटाले राष्ट्रिय स्तरमा नै शिक्षा ऐन बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अक्सफोर्ड स्कुलको शैक्षिक क्षेत्रका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । 
गैँडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख डाक्टर बालकृष्ण चापागाईंले देशकै उत्कृष्ट बिद्यालय बन्ने गरी काम गर्न सुझाव दिनुभएको छ । त्यस्तै नमुना माध्यमिक बिद्यालयका प्राचार्य गोपेन्द्र केसरी न्यौपानेले बिद्यालयको वातावरणलाई बालमैत्री बनाएर अगाडी बढ्न सुझाव दिनुभएको छ । 
कार्यक्रममा गैंडाकोट १ का वडा अध्यक्ष सुरेन्द्र्रप्रसाद रेग्मी, गैँडाकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेल लगायत शैक्षिक व्यक्तित्व, समाजसेवी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण शिक्षक नारायण सिग्देल र प्रकाश सुवेदीले गर्नुभएको थियो ।