नवलपुरमा ८ जनामा डेङ्गु सङ्क्रमण

२०८१ श्रावण १२ शनिबार १४:४०:०० मा प्रकाशित

गैँडाकोट । नवलपुर जिल्लामा ८ जनामा डेङ्गु सङ्क्रमण भएको छ । 

असारको दोस्रो हप्तादेखी हालसम्म प्राप्त तथ्याङ्कअनुसार नवलपुरमा डेङ्गुका बिरामी ८ जना रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 

जसमध्ये ६ जना पुरुष र २ जना महिला रहेको स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो । विनयी त्रिवेणीका ६ जना, बुलिङटारका १ र हुप्सेकोटका १ जनामा देखिएको हो । उनीहरु सबैको अवस्था सामान्य रहेको समेत उहाँले बताउनुभयो । 

नवलपुरबाट अधिकांश चितवन लगायत जिल्ला बहिर समेत परीक्षणका लागि जाने र जिल्ला भित्रका पोलिक्लिनिक लगायतका निजी अस्पतालको रेकर्ड प्राप्त हुन नसकेकोले यो अझै बढ्न सक्ने उहाँले बताउनुभयो । 

विशेषगरी भदौ र असोजमा डेङ्गु रोग बढी देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायःबिहान र बेलुकाको समयमा टोक्छ । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ । डेङ्गु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखा पर्छन् । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्ने उहाँले बताउनुभयो । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु हो ।

डेङ्गु ज्वरो नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा देखिएको थियो । चितवन घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो । त्यसपछिका वर्षहरुमा यो क्रमशः देखिन थालेको थियो ।