"नवदुर्गा उपासनाद्वारा तेस्रो नेत्र खोलौँ"

२०७९ असोज ८ शनिबार १५:३५:०० मा प्रकाशित

गैँडाकोट । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ कालिका संस्कृत विद्यापीठ एकाइ समिति, गैँडाकोट, नवलपरासीद्वारा आयोजित नवदुर्गा उपासनाको महत्त्व र शुभकामना आदानप्रदान विषयक कार्यक्रम सम्पन्न भयो ।

सामूहिक स्वस्तिवाचनबाट उद्घाटित उक्त कार्यक्रमका प्रमुख अतिथि धर्मशास्त्रविद् पं. फणिनारायण सिग्देलले शक्तिको उपासना विशेषतः तन्त्रशास्त्रमा रहेको बताउँदै उपासना पद्धतिका बारेमा कालिका पुराण र दुर्गासप्तशतीका रहस्यत्रयमा प्रकाश पारिएको बताउनुभयो । शक्तिको उपासना दुर्ग अर्थात् किल्लामा बसेर एकान्तमा गर्नुपर्ने, आफूभित्रको शत्रुको कारखानालाई समाप्त गरेर बाह्य शत्रुहरूको सामना गर्नुपर्ने, विशेष गरी बाह्य शक्तिसँग सम्बन्धित राजस शक्ति र तामस शक्तिभन्दा आध्यात्मिक शक्तिलाई जगाउन सात्त्विक शक्तिको नै उपासना गर्नुपर्ने, सुतेका बेला केही गर्न नसकेजस्तै शक्ति जागृत गराएर अघि बढेमा मात्र सबैजसो कार्यमा सफलता प्राप्त गर्न सकिने, बहिर्मुखी हुँदा बाह्यसुख पाएजस्तो देखिए पनि आन्तरिक सुख प्राप्त गर्न नसकिने हुँदा अन्तर्मुखी भएर शक्तिको उपासना गर्न सकेमा आन्तरिक सुख प्राप्त हुने र ज्ञानको तेस्रो आँखा खुलेका खण्डमा दुवै बाहिरी आँखाले कुनै प्रभाव नपार्ने कुरा व्यक्त गर्नुभयो । साथै उहाँले नवदुर्गाले धारण गर्ने त्रिशूल त्रिताप निवारणको प्रतीक, राँगाको बली दिनु भनेको क्रोध निवारणको प्रतीक, परेवाको बली दिनु भनेको अत्यधिक कामवासना निवारणको प्रतीक र बाख्राको बली दिनु भनेको अचेतन निवारणको प्रतीक ठान्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नवदुर्गाको उपासनाको महत्त्वका बारेमा चर्चा गर्ने क्रममा प्राचार्य तथा सहप्राध्यापक डा. रामचन्द्र कण्डेल, सहप्राध्यापक खिमानन्द शर्मा एवम् उपप्राध्यापकहरू पीताम्बर सापकोटा, डा. गोपीनाथ कण्डेल, श्याम खनाल, डा. सूर्यप्रसाद भट्टराई, डिल्लीप्रसाद कोइराला र कृष्णमणि पहारीले क्रमशः कूष्माण्डा, कात्यायनी, शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, स्कन्दमाता, महागौरी र सिद्धिदात्री दुर्गाहरूको परिचय, स्वरूप, उनीहरूले धारण गरेका शस्त्रको प्रतीकात्मक सन्देश र महत्त्वका बारेमा पृथक् पृथक् रूपमा चर्चा गर्नुभएको थियो ।

नजिकिँदै गरेका महान् चाडपर्वहरू बडादशैँ, शुभ दीपावली र छठपर्वको समेत एकआपसमा शुभकामना आदानप्रदान गरिएको उक्त कार्यक्रममा कर्मचारी प्रतिनिधिका रूपमा लेखापाल बेलबहादुर दराई र छात्र प्रतिनिधिका रूपमा कालिका छात्र परिषद्का अध्यक्ष अनुप भण्डारीले शुभकामना मन्तव्य दिनुभएको थियो । नेसंवि प्राध्यापक संघ कालिका संस्कृत विद्यापीठ एकाइ समितिका सभापति डा. मतिप्रसाद ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन समितिका सहसचिव डा. सूर्यप्रसाद भट्टराईले गर्नुभएको थियो ।