दोहोरो नागरिकता नम्बर र दोहोरो भत्ता भुक्तानी

२०७९ श्रावण १४ शनिबार १३:३३:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकामा दोहोरो नागरिकता नम्बर र सामाजिक सुरक्षा भत्ता वापत दोहोरो भत्ता भुक्तानी भएको पाईएको छ ।

गैँडाकोट ८ का दुईजना व्यक्तिलाई दोहोरो भत्ता भुक्तानी भएको फेला परेको हो । ८ नम्बर वडाका, एउटै नाम गरेका र एउटै जन्ममिति भएका एक पुरुष र एक महिलालाई दोहोरो सामाजिक सुरक्षा भत्ता दिईएको पाईएको हो । दिईएको रकम फिर्ता गरी संघीय सञ्चित कोषमा दाखिला गर्न महालेखापरीक्षकको कार्यालयले भनेको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा १२ मा विभागले स्थानीय तहका सामाजिक सुरक्षा सम्बन्धी सूचनालाई व्यवस्थित गर्न, स्थानीय तह, विभाग र बैंक/वित्तिय संस्थाबीच प्रणालिगत सम्बन्ध स्थापना गरी सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी र पारदर्शी बनाउन केन्द्रिकृत व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ । उक्त प्रणालीमा लाभग्राहीको विवरण प्रविष्टि गरी अद्यावधिक गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुन्छ । तर पालिकाले गैँडाकोट ८ का दुई व्यक्तिलाई दोहोरो तथा लगत कट्टा पछि सामाजिक सुरक्षा भत्ता भुक्तानी गरेको भेटिएको हो । दुई व्यक्तिलाई ३३ हजार दिईएकोमा महालेखापरीक्षणको प्रतिवेदनमा लगत कट्टापछिको रकम फिर्ता गरी सञ्चितकोषमा दाखिला गर्न भनेको छ ।

त्यस्तै लेखापरीक्षण योजना अनुसार सबैभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण भएका वडाहरु २, ५ र ८ को परीक्षण गर्दा १२ जनाको नागरिकता नम्बर दोहोरो भेटिएको छ । वडा नम्बर २ का ६ जना, ५ का ४ जना र ८ का २ जनाको नागरिकता नम्बर दोहोरो फेला परेको उल्लेख गरिएको छ । 

पालिकाले नागरिकता नम्बर दोहोरो गरी सामाजिक सुरक्षा भत्ता वापत ३ लाख ९६ हजार रुपैयाँ भूक्तानी गरेको पाएपछि महालेखापरीक्षकको कार्यालयले के–कसरी नागरिकता नम्बर दोहोरो भएको हो यकिन गर्न भनेको छ । साथै अन्य वडाहरुमा लाभग्राहीको विवरण समेत अद्यावधिक गरी भत्ता वितरण गर्न सुझाव दिएको छ ।

यसैविच गैँडाकोट नगरपालिकामा अब सामाजिक सुरक्षा भत्ता प्राप्तीको लागि ज्येष्ठ नागरिकहरुको उमेर हद ६८ वर्ष कायम गरेको छ ।

सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा ६८ वर्ष उमेर भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता दिने उल्लेख गरे अनुरुप सामाजिक सुरक्षा ऐन २०७५ समेत संसोधन भइसकेकोले गैँडाकोट नगरपालिकले सामाजिक सुरक्षा भत्ताका लागि आवश्यक कागजात सहित सूचीकृत हुनका लागि निवेदन माग गरेको छ । सरकारी या सार्वजनिक पदमा नियुक्ति, निर्वाचित, मनोनित भएका व्यक्ति तीनै तहका सरकारबाट पारिश्रमिक, निवृतभरण, अवकाश सुविधा वा अन्य सुविधा पाएकाले भने सामाजिक सुरक्षा भत्ता पाउने छैनन् ।

साथै नगरपालिकाले अर्को एक सूचना जारी गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीलाई परिचयपत्र नवीकरण गर्न भनेको छ । सम्बन्धित वडा कार्यालयमार्फत आवश्यक कागजात सहित कात्तिक मसान्तसम्म निवेदन दिन सक्नेछन् । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले भत्ता त्रैमासिक हुने भएकोले भदौ मसान्तभित्र नविकरण गर्नेलाई दशैँ अगावै भत्ता उपलब्ध गराईने उल्लेख गर्नुभएको छ ।