एसपीएम कलेज प्रजातन्त्रवादी प्राध्यापक संघको सभापतिमा गणेशप्रसाद शर्मा चयन

२०८१ असोज १७ बिहीबार ०६:३५:०० मा प्रकाशित

गैंडाकोट।एसपीएम कलेज प्रजातन्त्रवादी प्राध्यापक संघको सभापतिमा गणेशप्रसाद शर्मा चयन बुधबार गैंडाकोटमा अवस्थित एसपीएम कलेजमा प्रजातन्त्रवादी प्राध्यापक संघको नयाँ नेतृत्व चयन गरेको छ । संघको चौंथो अधिवेशनले गणेशप्रसाद शर्मा सभापति रहने गरी ११ सदस्यीय कार्यसमिति निविरोध निर्वाचित गरेको जानकारी निर्वाचन संयोजक शिवजी अधिकारीले दिनुभयो । नवगठित समितिको उपसभापतिमा कमलराज घिमिरे, सचिव महेश्वर पौडेल, कोषाध्यक्ष सुकदेव सुवेदी र सदस्यहरुमा क्रमशः रेखा लम्साल, अरुण कार्की, वीरेन्द्रकुमार राय, सुजन अधिकारी, रामबहादुर राम्जे र यमुना केसी रहनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति गोविन्द रिमालको अध्यक्षतामा चौंथो अधिवेशन एवम् शुभकामना कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका गैंडाकाट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले संघले कलेजको सर्वाङ्गीण विकासमा रचनात्मक भूमिका निर्वाह गर्नेमा आफू निश्चिन्त रहेको बताउनुभयो । साथै आफ्नो निरन्तर साथ र शुभेच्छा रहने धारणासमेत उहाँले राख्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस नवलपरासी (व.सु.पू.) क्षेत्र नं १ प्रदेश क का सभापति गोपाल सापकोटाले कलेजसँग आफू सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाली काँग्रेस गैंडाकोट नगरपालिकाका सभापति बद्री सापकोटाले देशको बिग्रदो राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले अतिवादिता बढ्दै जाँदा आपसी सम्बन्धमा समेत खलल पुगेको बताउनुभयो । यसै गरी कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघ कालिका संस्कृत विद्यापीठ इकाइ समितिका सभापति डा. केशवराज चालिसे, एसपीएम कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारी, प्राचार्य दीपेन्द्र पौडेल, विभागीय प्रमुख शिवजी अधिकारी, शिक्षा शास्त्र संकाय प्रमुख माधवप्रसाद सिग्देल, प्राध्यापक संघ सभापति अर्जुन गिरी, उपप्राध्यापक देवकी गौतम, स्वतन्त्र विद्यार्थी युनियनका सभापति विज्ञान न्यौपानेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उपसभापति गणेशप्रसाद शर्माको सहजीकरण रहेको सो कार्यक्रममा सचिव कमलराज घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नजिकिँदै गरेका चाडपर्वहरु दशैं, तिहार, छठ र नेपाल सम्वत ११४५को अवसरमा शुभकामनासमेत आदानप्रदान गरिएको थियो । नवनिर्वाचित समितिको पद हस्तान्तरण कार्यक्रम विहीबार सम्पन्न गर्ने तयारी रहेको जानकारी निर्वाचन संयोजक शिवजी अधिकारीले दिनुभयो ।