गैँडाकोटका पसलहरुमा अनुगमन, सचेत गराउनेदेखी कारवाही सम्म

२०८१ असोज १५ मंगलबार १८:५८:०० मा प्रकाशित

गैँडाकोट । चाडपर्व लक्षित गर्दै गैँडाकोटमा पसलहरुमा अनुगमन गरिएको छ । अनुगमन टोलीले गैँडाकोट वडा नम्बर १ र २ का खाद्य तथा किराना पसल, होटल, मासु पसल, दुध डेरी लगायतका पसलहरुमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालित एवं त्रुटी भेटिएका पसललाई सचेत गराउनेदेखी आवश्यक कारवाही गरिएको आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले बताउनुभयो ।

अनुगमनका क्रममा मूल्य सूची, साइन बोर्ड नराखेको, व्यवसाय दर्ता र नविकरण नभएको, किराना पसलमा खाद्य सामग्री र विषादी एकै स्थानमा राखिएको, होटल सरसरफाइमा कमजोरी भेटिएको, सडेको मासु बिक्रि स्थलमा नै राखेको लगायत भेटिएको थियो ।

होटल व्यवसायीलाई फ्रिज व्यवस्थापन गर्न, फ्रिजको समय–समयमा सरसफाई गर्न, शाकाहारी र मांशाहारी खानेकुरा अलग राख्न, कम माइक्रोनको पोलिथिनमा मासुलाई लामो समय फ्रिजमा भण्डारण नगर्न, फ्रिजमा स्टेनलेश स्टिलको भाँडा प्रयोग गर्न, ग्याँस सिलिण्डर भित्र राख्न परे छेउमा जुटको बोरा ओछ्याउन, मासुका परिकारमा सिन्टेटिक फूड रंगको प्रयोग नगर्न, तार्नलाई तेल एकपटक मात्र प्रयोग गर्न, मसी भएका पत्रपत्रिका, किताबका पानामा खानेकुरा नराख्न सचेत गराइएको छ ।

साथै खुल्ला बेच्ने दाल चिनी चामललाई बोराबाट झिकेर प्लास्टिकमा प्याक गरी जथाभावी मूल्य टाँस नगर्न, मूल्य सूची स्पष्ट राख्न चेतावनी दिइएको छ ।

मंगलबारको अनुगमनमा पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख टेकबहादुर मौनी, गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीका खाद्य अनुसन्धान अधिकृत ज्योती आचार्य, आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, उद्योग बाणिज्य संघ गैँडाकोटका सदस्य राजेन्द्र गौतम लगायतको उपस्थिती रहेको थियो ।