नारायणी माध्यमिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

२०८१ असोज १५ मंगलबार १८:५४:०० मा प्रकाशित

गैँडाकोट । नारायणी माध्यमिक विद्यालयमा आज मंगलबार अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख डा. बालकृष्ण चापागाईँले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक शिक्षा आवश्यक रहेको कुरा बताउनुभयो । आधा दिन भन्दा बढि समय बालबालिका घरमा रहने हुँदा शैक्षिक सुधारका लागि घरको बतावरणले पनि प्रभाव पार्ने हुँदा घरमा बालबालिकाले पढ्ने वातावरण निर्माण गर्न अभिभावकहरुलाई चापागाईँले अनुरोध गर्नुभयो ।

कार्यक्रममा पूर्व उपसचिव तथा शिक्षाविद् गोपालप्रसाद भण्डारीले सहजीकरण गर्दै बालबालिकाको भविष्य निर्माणमा अभिभावक, विद्यालय प्रशासन दुबैको बराबर भूमिका रहेको कुरा बताउनुभयो । बालबालिकाको शैक्षिक सुधारका लागि घरायसी बतावरण निर्माण, स्वास्थ्य, पोषणका लागि अभिभावकले निभाउनुपर्ने भूमिका जस्ता विषयवस्तुका बारेमा सहजीकरण गर्नुभएको थियो ।

एक सय पचास जना अभिभावकको सहभागिता रहेको सो कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद चापागाईँले  अभिभावक शिक्षामा जानेका कुरा दैनिक व्यवहारमा लागू गर्न अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले स्वागत गर्नुभएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष हरिप्रसाद सापकोटको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्यायले गर्नुभएको थियो ।