भीड थेग्न गाह्रो भएपछि गैँडाकोटमा खोप स्थगित

२०७८ पौष २९ बिहीबार १३:०६:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोटमा भीड थेग्न गाह्रो भएपछि खोप स्थगित गरिएको छ । खोपको अभाव भएपछि पनि खोप स्थगित गर्नुपरेको स्वास्थ्य शाखा गैँडाकोटले जनाएको छ । नवलपुरमा माघ ७ गतेदेखी बढी भीडभाड हुने सार्वजनिक ठाउँमा जाँदा अनिर्वायरुपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागु भएसँगै खोपको माग बढ्दै गएको छ ।
गैँडाकोटमा खोपलाई उच्च प्राथमिकताका साथ खोप समय निर्धारण गरि खोप लगाउने तालिका सार्वजनिक गरिएको थियो । गैँडाकोटमा आज र भोली (२९ र ३० गते) १८ वर्ष भन्दा माथीका अहिलेसम्म कुनैपनि खोप नलगाएका व्यक्तिलाई खोप लगाउने कार्यक्रम थियो । गैँडाकोट स्वास्थ्य चौकी, गैँडाकोट नगर अस्पताल र अमरापुरी स्वास्थ्य चौकीबाट खोप लगाउने गरि कार्यतालिका बनाईएकोमा गैँडाकोट स्वास्थ्य चौकीमा भीड थेग्न गाह्रो भएपछि भोलीका लागि खोप लगाउने कार्यक्रम स्थगित गरिएको हो । १० बजे निर्धारण गरिएको खोप लगाउन बिहान ८ बजेदेखी नै लाइन लगाउन पुगेका थिए । करिब १ किलोमिटर लामो लाइन थियो ।
गैँडाकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं गैँडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले माईकिङ गर्दै खोप सकिएकाले स्थगित भएको जानकारी गराउनुभएको थियो । उहाँले स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने र खोप सकिएको जनाउँदै खोप स्थगित गरिएको बताउनुभएको थियो । थप खोप माग गरि खोप लगाउने व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।  
१८ वर्ष भन्दा माथीका अहिलेसम्म कुनैपनि खोप नलगाएकाहरुलाई जोनसेन खोप लगाउने कार्यक्रम थियो । गैँडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले यसअघि खोप फिर्ता पठाउनुपरेको जनाउँदै अहिले माग बढेको बताउनुभयो । उहाँले माग बढेसँगै खोपको व्यवस्था गरि खोप लगाउने व्यवस्था मिलाईने बताउनुभयो । त्यस्का लागि खोप आएपछि अर्को सूचना जारी गरिने बताउनुभयो ।    
त्यस्तै उहाँले १२ वर्षदेखी १८ वर्षमुनिका व्यक्तिहरुलाई माघ २ गते खोप लगाईने जानकारी दिनुभयो । अहिलेसम्म खोप नलगाएका १२ वर्षदेखी १८ वर्षमुनिका व्यक्तिहरुलाई माघ २ गते मोर्डेना खोप लगाइने जानकारी दिनुभयो ।
गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले हरेक व्यक्तिलाई खोप उपलब्ध गराईने बताउनुभएको छ । उहाँले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै आवश्यक खोपको प्रबन्ध मिलाइने बताउनुभयो ।