सोझो गाउँलेको मरूभूमिमा हिमपातलाई साहित्य पुरस्कार

२०७८ पौष २४ शनिबार १८:१४:०० मा प्रकाशित


चितवन । चिसाप कृष्णाकुमारी गुरुङ साहित्य पुरस्कार एवम् चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार अर्पण कार्यक्रम चितवन साहित्य परिषदले सम्पन्न गरेको छ । सुदूर पश्चिमका साहित्यकार सोझो गाउँलेको मरूभूमिमा हिमपात नामक कृतिलाई रू १५०४५।– राशिसहित दोसल्ला र प्रमाणपत्रले कृष्णाकुमारी साहित्य पुरस्कारले सम्मानित गरिएको हो । कार्यक्रममा उहाँको कृतित्व र व्यक्तित्वमाथि साहित्यकार गणेश श्रमणले चर्चा गर्नुभएको थियो । त्यसैगरी कृष्णकृष्णा साहित्य पुरस्कारबाट विराटनगरका स्रष्टा दीपक सम्चूको कविता संग्रह अनुहारमा आप्पा कृतिलाई प्रदान गरिएको छ । कविको व्यक्तित्व र कृतित्वमाथि स्रष्टा पूर्णप्रसाद अधिकारीले समीक्षा प्रस्तुत गर्नुभएको थियो । चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि साहित्यकार गोविन्दराज विनोदी हुनुहुन्थ्यो । संस्थाका उपाध्यक्ष जगन्नाथ पण्डितको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा नेपाली साहित्यका धरोहर कवि शिरोमणि लेखनाथ पौड्यालको चर्चासमेत गरिएको थियो । कार्यक्रममा सम्मानित स्रष्टाहरूले आफ्नो अनुभूतिसमेत राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण चिसापका सचिव बालकृष्ण थपलियाले गर्नुभएको हो ।