विजयश्रीमा नयाँ नेतृत्व, नयाँ समितिले चुल्हो केन्द्रित व्यवसायमा जोड दिने

२०७८ पौष २४ शनिबार १७:१९:०० मा प्रकाशित


गैँडाकोट । विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेड गैँडाकोटको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको अध्यक्षमा केशवप्रसाद सापकोटा, उपाध्यक्षमा गोविन्द रिमाल, सचिवमा भानुभक्त लामिछाने, कोषाध्यक्षमा कृष्ण पाण्डे, सहसचिवमा लिलाबहादुर अधिकारी चयन हुनुभएको छ । त्यस्तै सदस्यमा तारा शर्मा, गुप्तप्रसाद रेग्मी, किशोरकुमार लम्साल र सुधा ज्ञवाली रहनुभएको छ । त्यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा सुरेन्द्रप्रसाद तिवारी, सदस्यमा सिता रिजाल र ईश्वरीप्रसाद घिमिरे सर्वसम्मत चयन हुनुभएको हो ।
शनिबार विकू सहकारीको सभाहलमा सपथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष केशवप्रसाद सापकोटाले वर्तमान समितिले चुल्हो केन्द्रित व्यवसाय र सेयरपूँजी वृद्धिलाई गर्ने बताउनुभयो । भएको अवसरलाई प्रयोग गर्दै चुनौती पार गर्दै अघि बढ्ने बताउनुभयो ।
सपथ ग्रहण गराउँदै निर्वाचन समितिका संयोजक ओमप्रसाद सापकोटले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न विकू सहकारीले लगानी गर्ने र विजयश्रीले बजारीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । विजयश्रीलाई उपभोक्ता सहकारीको अध्ययन केन्द्रको थलोका रुपमा विकास गर्ने गरि कामको थालनी गर्न आग्रह गर्नुभयो ।
निर्वाचन समिति सदस्य खेमराज सापकोटाले चुनाती पार गरि बढ्न आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो । निवर्तमान अध्यक्ष हरिलाल सापकोटाले निर्णय पुस्तिका हस्तान्तरण गर्दै नयाँ कार्यसमितिलाई सफलताको शुभकामना र सञ्चालक, सेयर सदस्य, कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रवर्धक संस्था विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष ईन्द्रराज ज्योती पौडेलले विजयश्री अध्ययन केन्द्रको रुपमा स्थापित हुन सकोस् भन्ने कामना गर्दै नयाँ समितिलाई संस्थाको उद्देश्य र लक्ष्य प्राप्तीतर्फ लाग्न आग्रह गर्नुभयो । निर्वाचन समिति सदस्य माधवप्रसाद पौडेलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
“शुद्ध व्यापार र स्थिर मूल्य” भन्ने नाराका साथ स्थानीय समुदाय र सदस्यलाई सहजरुपमा सुलभ र गुणस्तरीय वस्तुको उपलब्धतामा जोड दिदै आएको विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडले गैँडाकोटका तीन वठा स्थानबाट विजयश्री मिनिमार्ट सञ्चालन गर्दै आईरहेको छ ।