गैँडाकोटका जनप्रतिनिधिले लिए करिब ८४ लाख पारिश्रमिक  

२०७८ मङ्सिर २ बिहीबार १४:०५:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिकाको चालु आर्थिक वर्षको ४ महिनामा जनप्रतिनिधिले करिब ८४ लाख रुपैयाँ पारिश्रमिक वापतको रकम बुझेका छन् । 
यस आर्थिक वर्षका लागि पदाधिकारी पारिश्रमिक २ करोड २५ लाख ३८ हजार रुपैयाँ विनियोजन गरिएकोमा ४ महिनामा उनिहरुले ८३ लाख ८९ हजार ४ सय ३० रुपैयाँ बुझेका हुन् । जुन प्रतिशतमा ३७.२२ प्रतिशत हुन आउँछ । १ करोड ४१ लाख ४८ हजार ५ सय ७० रुपैयाँ मौज्दात रहेको छ । नगरपालिकाले चौमासिक आय व्यय विवरण सार्वजनिक गर्दै आर्थिक वर्षको यस अवधिमा पारिश्रमिक पदाधिकारी खर्च ३७.२२ प्रतिशत रहेको जनाएको छ । 
आर्थिक वर्षको साउन १ गतेदेखी कार्तिक मसान्तसम्म पदाधिकारी बैठक भत्ता निकै न्यून देखिन्छ । ४ महिनाको अवधिमा मात्र २.१८ प्रतिशत खर्च भएको छ । पदाधिकारी बैठक भत्ताका लागि ४३ लाख ३४ हजार रुपैयाँ विनियोजन गरिएकोमा ९४ हजार ५ सय रुपैयाँ खर्च भएको छ । पदाधिकारीको अन्य सुविधाको लागि ५ लाख रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म सो वापत कसैले पनि लिएका छैनन् । 
पदाधिकारीहरुले ईन्धनवापत २ लाख ७७ हजार ६ सय ८४ रुपैयाँ लिएका छन् । पदाधिकारीको ईन्धनका लागि १५ लाख छुट्याईएकोमा चालु आर्थिक वर्षको ४ महिनामा १८.५१ प्रतिशत खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो । ईन्धन पदाधिकारी शिर्षकमा १२ लाख २२ हजार ३ सय १६ रुपैयाँ मौज्दात रहेको छ ।