महिला उद्यमी सिर्जना पौडेलद्वारा गैंडाकोटमै सुविधा सम्पन्न ‘मोडेना कलेक्सन एण्ड मेकअप स्टुडियो’ सञ्चालनमा

२०८३ भदौ १४ आइतबार १४:५७:०० मा प्रकाशित

गैंडाकोट । महिला उद्यमी सिर्जना पौडेलले गैंडाकोटमै सुविधा सम्पन्न ‘मोडेना कलेक्सन एण्ड मेकअप स्टुडियो’ सञ्चालनमा ल्याउनुभएको छ। गैंडाकोट–२ स्थित शिलान्यास चोकमा स्थापना गरिएको स्टुडियोको आइतबार एक कार्यक्रमका बीच जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष छविलाल कँडेलले रिबन काटेर उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले महिलाले आफ्नै लगानी र मेहनतबाट व्यवसाय सञ्चालन गर्नु प्रेरणादायी कार्य भएको बताउनुभयो । उहाँले महिला उद्यमीको सक्रियताले स्थानीयस्तरमा रोजगारी तथा व्यवसायका अवसर सिर्जना गर्नुका साथै अन्य महिलालाई समेत उद्यमशीलतातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो।


गैंडाकोट नगरपालिका वडा नम्बर २ की जनप्रतिनिधि सकिला परियारले भन्नुभयो “महिलाले सञ्चालन गरेका यस्ता व्यवसायले आफूलाई मात्र आत्मनिर्भर बनाउँदैनन्, अरू महिलाका लागि पनि प्रेरणाको स्रोत बन्छन्,” । स्थानीयस्तरमै आधुनिक सेवा र सामग्री उपलब्ध हुँदा उपभोक्तालाई समेत सहज हुने उहाँको भनाइ थियो ।


त्यस्तै, जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका प्रथम उपाध्यक्ष नवराज कँडेलले महिला उद्यमीलाई प्रोत्साहन र आवश्यक सहजीकरण गर्न उद्योग वाणिज्य संघ सधैँ सकारात्मक रहेको उल्लेख गर्नुभयो ।


करिब ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको स्टुडियोमा सौन्दर्य सामग्री, कुर्ता–सलवार, सारीलगायतका सामग्रीसँगै आधुनिक मेकअप सेवा एउटै छानामुनि उपलब्ध गराइएको सञ्चालिका सिर्जना पौडेलले जानकारी दिनुभयो। स्टुडियोको विशेषताका रूपमा ग्राहकको अनुहारको स्किन मेसिनमार्फत परीक्षण गरी छालाको अवस्था अनुसार सौन्दर्य सेवा तथा मेकअप गर्ने व्यवस्था मिलाइएको सञ्चालिका पौडेलले बताउनुभयो । “मेकअपका लागि आवश्यक सामग्रीदेखि पहिरन र सौन्दर्य सेवासम्म एउटै ठाउँमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो,” पौडेलले भन्नुभयो, “स्किन टेस्टसहित आधुनिक तरिकाले मेकअप सेवा लिन अब गैंडाकोटबाट बाहिर जानुपर्ने अवस्था नहोस् भन्ने हाम्रो प्रयास हो ।” महिला उद्यमीका रूपमा सक्रिय पौडेलले उद्घाटनको अवसरमा विषेश छुट पनि रहेको बताउनुभयो ।उहाँले स्थानीयस्तरमै व्यवसाय सञ्चालन गरी महिलाहरू पनि सफल उद्यमी बन्न सक्छन् भन्ने सन्देश दिन खोजेको बताउनुभयो ।


कार्यक्रममा स्वागत मन्तव्य तुलसी तिमल्सिनाले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका महासचिव माधवप्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरू, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो ।


स्थानीय बजारमै आधुनिक सौन्दर्य सेवा, फेसन तथा मेकअप सामग्रीको सहज पहुँच स्थापित गर्ने उद्देश्यसहित सञ्चालनमा आएको मोडेना कलेक्सन एण्ड मेकअप स्टुडियोले गैंडाकोटको महिला उद्यमशीलताको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

ताजा खबर