नन्दन सामुदायिक वनद्वारा सञ्चालित सिलाई कटाई तालिम समापन , सिकेको सीपलाई व्यवसायमा लगाउन उपप्रमुख कोइरालाको आग्रह

२०८३ भदौ ११ बिहीबार १५:४३:०० मा प्रकाशित

गैँडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट–६, ८ र ९ को आयोजनामा गरिबी न्यूनीकरण, महिला सशक्तीकरण तथा उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित सिलाई कटाई एडभान्स तालिम कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार समूहको सभाहलमा आयोजित कार्यक्रममा तालिमको समापनसँगै सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको हो । समूहको कार्यक्षेत्रमा पर्ने तीनवटा वडाबाट छनोट भएका तथा यसअघि बेसिक कोर्स लिएका १२ जना प्रशिक्षार्थीले एडभान्स तालिममा सहभागिता जनाएका थिए ।
तालिमका लागि प्राविधिक सहयोग पब्लिक शाइनिङ टेक्निकल इन्स्टिच्युट प्रालि, गैँडाकोट–६ ले गरेको थियो। तालिमको प्रशिक्षण पब्लिक शाइनिङ टेक्निकल इन्स्टिच्युटकी कार्यक्रम संयोजक एवं व्यवसायी जमुना काफ्लेले गर्नुभएको थियो।
कार्यक्रममा गैँडाकोट नगरपालिकाकी नगर उपप्रमुख शान्ति कोइरालाले सीपमूलक तालिमलाई प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रममा मात्र सीमित नराखी सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता तालिमले आत्मनिर्भर बन्ने आधार तयार गर्ने बताउनुभयो ।
सबडिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सन्तोष मिश्रले सामुदायिक वनको भूमिका वन संरक्षणमा मात्र सीमित नभई उपभोक्ताको आर्थिक तथा सामाजिक विकासमा समेत केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले सीप सिकेका सहभागी व्यवहारमा उतारेर आयआर्जनको माध्यम बनाउन सके तालिमको उद्देश्य पूरा हुने उल्लेख गर्नुभयो । 
नन्दन सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष हरिमाया अधिकारीले समूहले वन संरक्षणसँगै उपभोक्ताको जीवनस्तर सुधारका लागि विभिन्न आयआर्जन तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले तालिमबाट प्राप्त सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्न प्रशिक्षार्थीलाई आग्रह गर्दै आगामी दिनमा पनि आवश्यकता पहिचान गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।


पब्लिक शाइनिङ टेक्निकल इन्स्टिच्युटका सञ्चालक दीपक दराईले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्न सके मात्र तालिमको वास्तविक उपलब्धि देखिने बताउनुभयो । 
समूहका निवर्तमान अध्यक्ष बालकृष्ण गौडेलले नन्दन सामुदायिक वनले वन संरक्षणसँगै उपभोक्ताको क्षमता विकासलाई प्राथमिकता दिँदै विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले बेसिक तालिमपछि एडभान्स तालिम सञ्चालन गर्दा सहभागीको सीपमा थप निखार आउने र व्यावसायिक रूपमा अगाडि बढ्न सहज हुने बताउनुभयो।
गैँडाकोट नगरपालिका वडा नम्बर ८ की जनप्रतिनिधि सुशीला परियारले तालिमबाट सिकेको सीपलाई घरमै सीमित नराखी व्यवसायका रूपमा अघि बढाउन सके महिलाको आर्थिक सशक्तीकरणमा ठूलो योगदान पुग्ने उल्लेख गर्नुभयो।


तालिमकी प्रशिक्षक जमुना काफ्लेले सहभागीले मेहनतका साथ सीप हासिल गरेको भन्दै अब सिकेको सीपलाई निरन्तर अभ्यास र नयाँ डिजाइनसँग जोड्दै लैजान सके राम्रो आम्दानीको स्रोत बनाउन सकिने बताउनुभयो।
तालिमकी प्रशिक्षार्थी रञ्जु स्याङतानले तालिम निकै प्रभावकारी रहेको बताउँदै बेसिकपछि एडभान्स सीप सिक्ने अवसर पाउँदा आफूहरूलाई थप आत्मविश्वास प्राप्त भएको बताउनुभयो। 
कार्यक्रममा समूहका उपाध्यक्ष नरजंग रानाले सहभागीलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समूहका सचिव तथा महिला सशक्तीकरण कार्यक्रमकी संयोजक कमला शर्माले गर्नुभएको थियो। कार्यक्रममा कार्यसमिति सदस्य, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।
नन्दन सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै उपभोक्ताको आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै विभिन्न आयआर्जन तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।