धानबालीमा लाग्ने रोगकिरा पहिचान तथा समाधानसम्बन्धी प्रशिक्षण सम्पन्न
गैँडाकोट। श्री विनायक कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा धानबालीमा लाग्ने रोगकिरा पहिचान तथा समाधानका उपायसम्बन्धी एक दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ।
शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लिमिटेडको सभाहलमा शनिवार आयोजित तालिममा गैँडाकोट नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका ६१ जना कृषकहरूको सहभागिता रहेको थियो। तेस्तै गैडाकोट नगरपालिका वडानम्बर १० र ११ को संयुक्त वडा कार्यलयको सभाहलमा आईतवार भएको तालिममा गैँडाकोट नगरपालिकाका वडा नम्बर १० देखि १८ सम्मका ८० जना कृषकहरूको सहभागिता रहेको थियो।
कृषि विकास कार्यालय नवलपुरका प्रमुख राजेश्वर सिलवालले धानबालीमा देखिने रोग तथा किराको समयमै पहिचान गरी उचित व्यवस्थापन गर्न सके उत्पादनमा हुने क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो। उहाँले कृषकले रोगकिरा देखिएपछि मात्र उपचार खोज्नेभन्दा पनि नियमित रूपमा खेतबालीको अनुगमन गरी सुरुवाती अवस्थामै समस्या पहिचान गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष तिलकप्रसाद कँडेलले कृषकलाई धानबालीमा लाग्ने रोगकिराको पहिचान, रोकथाम तथा व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो। कृषकलाई समयाअनुकूल कृषि प्रविधि र प्राविधिक ज्ञान उपलब्ध गराउँदै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ थियो।

तालिममा कृषि विकास कार्यालय नवलपुरका बाली संरक्षण अधिकृत मिना श्रेष्ठ, नेपाल एग्रो जनकपुरधामका रिजनल म्यानेजर साहेन गुप्ता र टेरिटोरियल म्यानेजर रोशन शाहले धानबालीमा लाग्ने विभिन्न रोगकिरा, तिनको पहिचान, रोकथाम तथा व्यवस्थापनका उपायबारे कृषकहरूलाई प्रशिक्षण दिनुभएको थियो।
तालिमका क्रममा कृषकहरूले धानबालीमा देखिने समस्या, रोगकिराको प्रकोप तथा त्यसको व्यवस्थापनका विषयमा जिज्ञासा राखेका थिए। प्राविधिकहरूले कृषकका जिज्ञासाको समाधान गर्दै रोगकिरा नियन्त्रणमा सही विधि अपनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा शिक्षा समिति संयोजक गोविन्दप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो। संस्थाका सचिव लक्ष्मीदत्त सापकोटा लिलाले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा संस्थाका विभिन्न समिति तथा उपसमितिका पदाधिकारी, कृषक, शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो।