श्री नारायणी सामुदायिक वनद्वारा वक्तृत्वकला कार्यक्रम सम्पन्न, कालिका नमुना मा वि कि छात्रा लक्ष्मी सापकोटा प्रथम
गैंडाकोट । गैंडाकोटमा अवस्थित श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहद्वारा सामुदायिक वन दिवस २०८३ को पावन अवसर पारेर अबको सामुदायिक वन, युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन सम्बन्धि वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रम नारायणी सामुदायिक वनको वातावरण मैत्री उद्यान परिसर गैंडाकोट ९ मा आयोजना गरिएको थियो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नारायणी सामुदायिक वन जिल्लामै उत्कृष्ट वनको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा वातावरण संरक्षण र वन क्षेत्रको संरक्षण अझै महत्वपूर्ण कार्यका लागि शुभकामना व्यक्त गर्नुभयो । सो कार्यक्रममा गैंडाकोटमा रहेका विद्यालयहरु र गैंडाकोट ७ र ९ का टोलविकास संस्था अन्र्तगतका १८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा कालिका नमुना माध्यमिक विद्यालयबाट सहभागी लक्ष्मी सापकोटाले प्रथम स्थान , शितलनगर टोल विकास संस्थाबाट सहभागी आरजु चापागाईँले द्वितिय स्थान, विजय सामुदायिक शिक्षा सदनका रेजिना मिश्रले तृतिय स्थान र कालिका नमुना माध्यमिक विद्यालयबाट सहभागी सृष्टि पोख्रेल, त्रिमुर्ति विद्यामन्दिरबाट सहभागी सोनिया गुरुङ, गैंडाकोट इङ्गलिस स्कूलबाट सहभागी आश्रिया शर्माले सान्त्वना स्थान प्राप्त गर्न सफल हुनुभएको छ । सो प्रतियोगितामा प्रथम हुने विद्यार्थीले प्रमाणपत्र र रु ५००० नगद पुरस्कार, द्वितिय हुनेले प्रमाणपत्र र ३०००, तृतिय हुनेले प्रमाणपत्र र रु २००० र सान्त्वना स्थान प्राप्त गर्नेले प्रमाणपत्र र रु १००० रुपैया प्रदान गरिएको थियो ।

सो प्रतियोगिताको निर्णायक संयोजकमा सव डिभिजन कार्यलय गैडाकोटका प्रमुख सन्तोष मिश्र र सदस्यमा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा र नारायणी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तथा एडुश्री डटकमका प्रधानसम्पादक जगन्नाथ उपाध्याय निर्णायकको रुपमा रहनुभएको थियो ।
कार्यक्रममा २१ दिने प्लम्बिङ्ग,बिजुली वायरिङ्ग, धारा जडान, एसी तथा फ्रिज मर्मत तालिममा सहभागी भइ तालिम पूर्ण गर्ने कार्यक्षेत्र भित्रका महिलाहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो कार्यक्रममा गैंडाकोट वडा नं ७ का वडा अध्यक्ष होमनाथ सापकोटा, वडा नं ६,७ र ९ का वडा सदस्यहरु , गैंडाकोटमा अवस्थित सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नारायणी सामुदायिक वनका सचिव सिता गिरीले सहजीकरण गर्नुभएको सो कार्यक्रम अध्यक्ष नेत्रराज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष धनपति सापकोटाले गर्नुभएको थियो ।
