माटोको जैविक तत्व संरक्षण र सही बाली पोषणले मात्रै कृषिमा दिगोपन सम्भव

कावासोतीमा एक दिवसीय अन्तरक्रिया सम्पन्न

२०८३ असार १ सोमबार १२:३८:०० मा प्रकाशित

कावासोती । रासायनिक मलको बढ्दो र अनियन्त्रित प्रयोगका कारण माटोको उर्वरा शक्ति दिगो रूपमा ह्रास हुँदै गइरहेको परिप्रेक्ष्यमा माटोको जैविक तत्व संरक्षण र सही बाली पोषण व्यवस्थापन सम्बन्धी एक दिवसीय वृहत् छलफल, अन्तरक्रिया तथा प्रस्तुतिकरण कार्यक्रम आज कावासोतीस्थित खानेपानी संस्थाको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ।

 

सामर्थ्य नेपाल प्रा.लि.को आयोजना तथा जिल्ला सहकारी संघ लिमिटेड, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को समन्वयमा आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषि प्राविधिक, सहकारी अभियन्ता र कृषकहरू सहित ५० जनाको सक्रिय सहभागिता रहेको थियो।

 

सामर्थ्य नेपाल प्रा.लि. का अध्यक्ष धीर प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रममा जिल्ला सहकारी संघ लि. नवलपुरका अध्यक्ष श्री तिलक प्रसाद पराजुली प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। 

 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पराजुलीले माटोमा जैविक तत्वको क्षयीकरण (ह्रास) हुनु वर्तमान कृषिको सबैभन्दा ठूलो चुनौती रहेको औंल्याउनुभयो । उहाँले माटोको खस्कँदो अवस्थालाई समयमै नरोके आगामी पुस्ताले गम्भीर संकट व्यहोर्नुपर्ने चेतावनी दिँदै प्राङ्गारिक तथा जैविक मलको प्रयोग बढाउन र माटो संरक्षणमा सबै क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा विषयविज्ञका रूपमा कावासोती नगरपालिकाका कृषि प्राविधिक नरेन्द्र भण्डारीले बाली पोषण योजना तथा जैविक मल र रासायनिक मलको हालको अवस्था विषयमा विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले बालीलाई आवश्यक पर्ने सन्तुलित पोषक तत्वको योजना र रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा पारेको नकारात्मक प्रभावबारे प्राविधिक विश्लेषण प्रस्तुत गर्नुभयो। 

 

त्यसैगरी, कार्यक्रमका अध्यक्ष एवं सामर्थ्य नेपालका अध्यक्ष धीर प्रसाद अधिकारीले माटोको जैविक तत्व संरक्षणमा हाम्रो प्रयास विषयक प्रस्तुतिकरण राख्दै माटोको जैविक स्वास्थ्य सुधार्न बजारमा उपलब्ध उचित जैविक मल, ग्रीन पावर र जैविक पौष्टिक आहार जस्ता उत्पादनहरूको वैज्ञानिक महत्व र प्रयोगबारे प्रकाश पार्नुभएको थियो। यी उत्पादनहरू उचित जैविक उद्योगद्वारा जापानी प्रविधिमा आधारित भई नेपालमा पहिलो पटक रासायनिक मलको विशिष्ट विकल्पका रूपमा तयार पारिएका हुन् ।

 

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला सहकारी संघ लि. का उपाध्यक्ष  तुलमणी पौडेल, संघका सचिव  श्याम सुन्दर लामिछाने, देवचुली नगरपालिकाका कृषि शाखा प्रमुख नरेन्द्र भण्डारी, कावासोती सहकारी समन्वय मञ्चका अध्यक्ष कृष्णराज रिग्देल, र जिल्ला कृषि सहकारी संघ लि. का अध्यक्ष देवकी भण्डारी लगायतको  उपस्थिति रहेको थियो। 

 

अतिथिहरूले कृषि प्रधान देशमा कृषकलाई रासायनिक मलको परनिर्भरताबाट मुक्त गराउँदै स्थानीय सहकारीहरू मार्फत जैविक मलको वितरण र सचेतना फैलाउन आवश्यक रहेको धारणा राख्नुभएको थियो ।

सामर्थ्य नेपाल प्रा.लि. का सत्यराज अधिकारीले कुशलतापूर्वक सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सहभागी ५० जना कृषक तथा सहकारी प्रतिनिधिहरूले माटोको बिग्रँदो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै प्राविधिक सत्रमा उठाइएका व्यावहारिक उपायहरूलाई आफ्नो कार्यक्षेत्र र उद्यममा तत्काल लागु गर्ने प्रतिबद्धता जनाएका थिए।