विश्व रक्तदाता दिवसको अवसरमा १२१ पटक रक्तदान गर्ने सन्तोष वाग्ले सम्मानित
गैँडाकोट । विश्व रक्तदाता दिवसको अवसरमा गैंडाकोट जेसीजले रक्तदाता सम्मान कार्यक्रम आयोजना गरी १२१ पटक रक्तदान गर्नुभएका गैंडाकोट–२ निवासी सन्तोष कुमार वाग्लेलाई सम्मान गरेको छ।
गैंडाकोट–७ गैरीस्थित जेसीज सचिवालयमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा गैंडाकोट–७ का वडा अध्यक्ष होमनाथ सापकोटाले रक्तदान मानव जीवनसँग प्रत्यक्ष जोडिएको महान कार्य भएको बताउँदै नियमित रक्तदानको संस्कार विकास गर्न आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले रक्तदाताहरूको निस्वार्थ योगदानले धेरै बिरामीको जीवन बचाउन मद्दत पुगेको बताउदै वडामा सचेतना कार्यक्रम आयोजना गर्न र वडाको सहयोग रहने उल्लेख गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा गैंडाकोट जेसीजका पूर्व अध्यक्ष परमेश आचार्यले रक्तदानलाई मानव सेवाको उत्कृष्ट माध्यमको रूपमा व्याख्या गर्दै युवाहरूलाई रक्तदान अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो।
अर्का विशिष्ट अतिथि तथा सम्मानित रक्तदाता सन्तोष कुमार वाग्लेले रक्तदानले आफूलाई आत्मसन्तुष्टि र सामाजिक उत्तरदायित्वको अनुभूति दिलाएको बताउँदै स्वस्थ व्यक्तिहरूलाई नियमित रक्तदान गर्न प्रेरित गर्नुभयो। कलेजहरुमा सचेतना कार्यक्रम गर्न आवस्यक रहेको र आफ्नो साथ र सहयोग रहने बताउनुभयो ।

अतिथि तथा समाजसेवी श्यामसुन्दर लामिछानेले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले समाजमा रक्तदानप्रतिको सचेतना अझ विस्तार गर्नुपर्ने बताउनुभयो।
गैंडाकोट जेसीज वर्ष २०२६ का अध्यक्ष ईश्वर पौडेलले नियमित रक्तदाताहरूको योगदानको सम्मान गर्दै समाजमा रक्तदानको महत्वबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रम संयोजक डा. शुभास सापकोटाका अनुसार रक्तदानजस्तो मानवीय कार्यमा निरन्तर सक्रिय व्यक्तिहरूलाई सम्मान गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा जेसीजका पदाधिकारी, सदस्य, सरोकारवाला तथा स्थानीयवासीहरूको सहभागिता रहेको महासचिव कमल तिवारीले जानकारी दिनुभयो।