सुस्तामा नदी नियन्त्रणको प्रयास, बर्खाअघि सक्ने तयारी
पश्चिम नवलपरासी। गत वर्ष नारायणी नदीको बाढी बस्तीमा पसेको पश्चिम नवलपरासीको ऐतिहासिक भूमि सुस्तामा नदी नियन्त्रणको काम तीव्र गतिमा भइरहेको छ । नारायणी नदीले धेरै कटान गरेको पाँच सय मिटर क्षेत्रमा दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ ।
सङ्घीय सरकारको झन्डै १२ करोडको लगानीमा सुस्ता बाढी नियन्त्रणको काम सुरु भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय आयोजना चितवनका प्रमुख डा। नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीको बहाव सिधै सुस्ताको बस्तीतर्फ सम्झिएकाले वर्षायाममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दे बाढी नियन्त्रणको उपाय सुरु गरिएको हो ।
नदी तटबन्ध भत्काएर बस्ती प्रवेश गरेको क्षेत्रमा अहिले पनि पाँच मिटरसम्म गहिरो भएकाले सबै ठाउँमा तटबन्ध लगाउन सम्भव नभएपछि वैकल्पिक उपाय अवलम्बन गरिएको छ । गत वर्ष वर्षायाममा सुस्ताको उत्तरतर्फको भागबाट बाढी बस्तीमा पसेपछि स्थानीयले रातभर जाग्राम बसेर बोरामा बालुवा भरेर बस्ती जोगाएका थिए । यस वर्ष वर्षायाम अगावै नदी नियन्त्रणको दरिलो संरचना तयार नभए सुस्ता बाढीको भेलसँगै बग्ने भन्दै सुस्तावासीले तत्कालीन भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएपछि बजेट व्यवस्थापन गरेर ठेक्का आह्वान गरिएको थियो
भत्किएको स्थानमा मर्मत गर्ने र धेरै गहिरो भएको स्थानमा आरसिसी प्रोकुपाइन ‘त्रिभुज आकारका सिमेन्टको पोलहरूलाई प्रयोग गरेर गरिने नदी नियन्त्रण प्रविधि’ गरिने आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले बताउनुभयो । धेरै गहिरो भएको स्थानमा पाँच लाइनमा तीन तहसम्म आरसिसी प्रोकुपाइन गरिने छ । “तीन मिटर लामा ६ वटा सिमेन्टका पोलहरूलाई त्रिभुज आकारमा जोडेर नदीमा तहगत रूपमा राखिन्छ, जसले बाढी आएको समयमा पानीको बहाव नियन्त्रणको काम गर्छ विश्वकर्माले भन्नुभयो, अहिले त्यही सिमेन्टमा पोलहरू निर्माणको काम धमाधम भइरहेको छ ।”
आरसिसी प्रोकुपाइन निर्माणका लागि ४ हजार ३०० सय वटा सिमेन्टका पोलहरू निर्माण गर्ने काम आधा सकिएको आयोजनाले जनाएको छ । समय अभाव भएकाले असार मसान्तभित्रै काम सक्न ठेकेदारलाई निर्देशन दिइएको छ । बाढी नियन्त्रणका लागि सुस्तामा माथिल्लो खण्ड ‘अप्पर पार्ट’ को काम ७ करोड १७ लाख को लागतमा शिवम् कन्स्ट्रक्सन जेभीले जिम्मा पाएको छ भने दोस्रो खण्डको काम ४ करोड ६६ लाखको लागतमा केवि कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको छ ।
सुस्तागाउँ तीन तिरबाट नारायणी नदी र एकतर्फ भारतीय भूमिले घेरिएको छ । ठुलो बाढी पसेमा सुस्तामा उद्धारको लागि समेत कठिन हुने अवस्था रहेकाले बाढी आएको बेला स्थानीय रातभर जाग्राम बस्ने गरेका छन । सुस्तामा नदी नियन्त्रणका लागि आगामी आर्थिक वर्षको बजेटमा थप व्यवस्थापनको पहल भइरहेको प्रतिनिधि सभा सदस्य विक्रम खनालले बताउनुभयो । अधुरो तटबन्ध पूरा गर्ने र जोखिम स्थानमा भारतको सीमासम्म काम गर्नुपर्ने खनालले बताउनुभयो ।