गोरखकाली मन्दिरबाट हनुमानढोकाको दशैँघरमा फूलपाती पठाइयो

२०७८ असोज २६ मंगलबार १०:१२:०० मा प्रकाशित

 

 

गाेरखा - गोरखाको गोरखकाली मन्दिरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दशैँ घरमा फूलपाती पठाइएको छ । गएराति गोरखामा विधिपूर्वक सङ्कलन गरिएको फूलपाति आज बिहान बा २ झ २१२९ नम्बरकाे सरकारी मोटरमा राखेर हनुमानढोका पठाइएको हो ।

यो वर्ष गोरखा दरबार हेरचाह अड्डाका पुजारी कुलबहादुर थापा फूलपाती लिएर काठमाण्डौ जानु भएको हो । हनुमानढोकामा फूलपाती लैजानका लागि पुरातत्त्व विभागले काठमाण्डौबाट मोटर पठाएको थियो ।

 

गएकाे वर्षहरुमा कोरोना सङ्कटका कारण संक्षिप्त रुपमा कार्यक्रम गरी फूलपाती पठाउने गरिएकोमा यो वर्ष भने बाजागाजासहित हर्षोल्लासका साथ फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताउनुभयो ।

गोरखकाली मन्दिरको दशैँ घरको फूलपाती काठमाण्डौको हनुमानढोकामा रहेकाे दशैँघरमा पठाउने परम्परा करिब ४ सय वर्ष पुरानो रहेको उहाँको भनाइ छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोरखाबाट हनुमानढोका दशैँघरमा फूलपाती लैजाने परम्परा बसेको हो ।

 

उहाँले १८२५ सालमा काठमाण्डौमा विजय प्राप्त गर्नुभएकाे थियाे । त्यतिबेला गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाती लैजाने परम्परा रहेको थियो । तर जङ्गबहादुर राणाको उदयपछि फूलपातीको परम्परा बन्द भएको भुषालले बताउनुभयो । काठमाण्डौ र गोरखालाई पृथ्वीराजमार्गले जोडेपछि भने मोटरमार्फत फूलपाती काठमाण्डौ पठाउने चलन सुरु भएको उहाँको भनाइ छ ।

 

त्यही परम्परालाई निरन्तरता दिँदै यो वर्ष पनि मोटरमार्फत फूलपाती काठमाण्डौ पठाइएको भुषालले बताउनुभयो । यसप्रकारको परम्पराले गोरखा दरबार र हुनमानढोकाको ऐतिहासिक पक्षलाई जीवन्त राख्न सहयोग पुग्ने उहाँको भनाइ छ । पृथ्वीनारायण शाहको पालादेखि सुरु भएको यस परम्परालाई पुरानै शैलीमा निरन्तरता दिनुपर्ने गोरखा सङ्ग्रहालयका प्रमुख नवराज अधिकारीले बताउनुभयो ।

पुरानो हुलाकी मार्ग हुँदै फूलपाती लैजाने परम्परालाई जोगाउन सके इतिहासको संरक्षण र प्रवर्द्धन सहयोग पुग्ने उहाँको विश्वास छ । source: unn.com.np