दुई लाख बढी किशोरीहरुले लगाए क्यान्सरविरुद्धको खोप

२०८२ फाल्गुण २७ बुधबार १७:१२:०० मा प्रकाशित

काठमाडौंँ । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप करिब दुई लाख ४० हजार किशोरीले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि फागुन १५ गतेसम्म सञ्चालन गरेको अभियानमा दुई लाख ३७ हजार ९७२ जना किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।

 

नियमित एचपिभी खोप लगाउने दुई लाख १५ हजार ३१४ जना र गत वर्षको खोप अभियानमा छुट भएका २२ हजार ६४८ जना किशोरी रहेका छन् । शाखा प्रमुख डा.गौतमका अनुसार अभियानमा नियमिततर्फ खोप लगाउने कक्षा ६ मा पढ्ने दुई लाख एक हजार ८९ छात्रा र विद्यालय नजाने १० वर्ष उमेर समूहका १३ हजार ५८५ किशोरी रहेका छन् । त्यस्तै, गत वर्षको एचपिभी खोप अभियानमा छुटेका अहिले कक्षा ७ देखि १० सम्म पढिरहेका १४ हजार ५८६ छात्राले खोप लगाएका छन् ।

 

यस्तै, अभियानका क्रममा ११ वर्षदेखि १४ वर्षका विद्यालय नजाने आठ हजार ४९ किशोरीले पनि खोप लगाएका छन् । धनुषा, महोत्तरी, अर्घाखाँची, गुल्मी, पाल्पा र रोल्पा जिल्लाबाट भने विवरण आउन बाँकी रहेको शाखा प्रमुख डा.गौतमको भनाई छ ।