मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पु¥याइने

२०८२ फाल्गुण ५ मंगलबार १७:४९:०० मा प्रकाशित

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।


जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिनुभयो । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उहाँको भनाई छ ।


प्रबन्ध निर्देशक पौडेलका अनुसार, “प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ कार्य सोमबार साँझबाट सम्पन्न भएको छ । 


केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।


प्रबन्ध निर्देशक पौडेलले कर्णाली र सुदुरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पु¥याउने गरी काम भइरहेको जानकारी दिनुभयो।