पाँचौँ गैँडाकोट मेयरकप राष्ट्रिय टी–२० क्रिकेटमा मेयर इलेभेनको विजयी सुरुवात
गैँडाकोट । पाँचौँ गैँडाकोट मेयरकप राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिम “मेयर इलेभेन” ले विजयी सुरुवात गरेको छ । नवजागरण खेल मैदानमा सम्पन्न खेलमा मेयर इलेभेनले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ११९ रन जोड्यो। लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको मेयर इलेभेनले आक्रामक प्रदर्शन गर्दै १० दशमलव ३ ओभरमै ४ विकेट गुमाएर १२० रनको लक्ष्य पूरा गर्यो। घरेलु मैदानमा समर्थकको साथ पाएको आयोजक टोलीले सुरुदेखि नै खेलमा दबाब सिर्जना गर्दै सहज जित निकालेको हो।

उद्घाटन खेलका उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) मेयर इलेभेनका सन्नी बिक घोषित भए। उनको प्रभावशाली प्रदर्शनले टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेको थियो।
प्रतियोगिताको औपचारिक उद्घाटन गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी ले गर्नुभएको थियो। उद्घाटन समारोहमा गैँडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, खेलकुदकर्मी तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता देखिएको थियो।
गैँडाकोट-९ थुम्सीस्थित नवजागरण खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत फागुन २ गते बिहान १० बजे लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने सोही दिन दिउँसो १ बजे मधेश प्रदेश र गण्डकी प्रदेश आमनेसामने हुनेछन् । त्यसैगरी, फागुन ३ गते बिहान १० बजे सुदूरपश्चिम र कोशी प्रदेशबीच खेल हुनेछ। सेमिफाइनल खेल फागुन ४ गते तथा फाइनल फागुन ५ गते आयोजना गरिने आयोजकले जनाएको छ।
गैँडाकोट नगरपालिकाको प्रवर्द्धन, वडा नं. ९ को विशेष सहयोग तथा नेपाल क्रिकेट संघ र गण्डकी प्रादेशिक क्रिकेट संघ को समन्वयमा नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा एवं नवलपुर जिल्ला क्रिकेट संघको सह-आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो।
नगरप्रमुख मदनभक्त अधिकारी ले प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्दै गैँडाकोटको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल क्रिकेट संघ गण्डकीका उपाध्यक्ष प्रकाश पौडेलले मेयरकप स्थानीय प्रतिभा उजागर गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै गएको बताउनुभयो।
नगर खेलकुद विकास समितिका अध्यक्ष तथा टुर्नामेन्ट डाइरेक्टर धामनाथ सापकोटाका अनुसार प्रतियोगिता सञ्चालनका लागि ५२ लाख २ हजार २ सय रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको छ। “मेयरकपलाई निरन्तरता दिँदै गैँडाकोटलाई राष्ट्रिय खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो,” सापकोटाले भन्नुभयो, “यसले स्थानीय युवालाई प्रतिभा प्रदर्शन गर्ने अवसर दिनुका साथै खेलकुद पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याउनेछ।”
प्रतियोगितामा विजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी म्यान अफ द सिरिजलाई २५ हजार रुपैयाँ र उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर तथा विकेटकिपरलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगिता सुरु भएसँगै गैँडाकोटमा खेलप्रेमीहरूको उत्साह उल्लेख्य रूपमा बढेको छ। पाँच दिनसम्म चल्ने यस प्रतियोगिताले नगरलाई खेलकुदको उत्सवमा परिणत गर्ने अपेक्षा गरिएको छ भने स्थानीय प्रतिभा उजागर र खेलकुद पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।