एचपीभी खोप अभियान नवलपुरमा फागुन ४ गतेदेखि सुरु हुने
नवलपुर । नवलपुरमा किशोरीहरूको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै फागुन ४ गतेदेखि ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको निःशुल्क खोप अभियान सुरु हुने भएको छ ।
कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई लक्षित गरी अभियान सञ्चालनमा ल्याइएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका आठवटै पालिकाभित्र रहेका सामुदायिक तथा निजी विद्यालयमै पुगेर खोप लगाइने व्यवस्था मिलाइएको छ ।
अभियानअन्तर्गत विद्यालय जाने तीन हजार ५ सय ६५ जना बालिका तथा विद्यालय नजाने ३० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । सुरुमा एक हप्ताभित्र अभियान सम्पन्न गर्ने योजना भए पनि बीचमा बिदा परेकाले फागुन १३ गतेसम्म कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
यसैगरी, गैँडाकोटमा कक्षा ६ मा अध्ययनरत ७ सय ३० जना छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई लक्षित गरिएको छ । यहाँ ४१ वटा सामुदायिक तथा संस्थागत विद्यालय र १५ वटा स्वास्थ्य संस्थासहित जम्मा ५६ वटा खोप केन्द्रमार्फत फागुन ४ देखि ११ गतेसम्म खोप लगाइनेछ ।
अभियान सफल बनाउन गैंडाकोटमा २५ जना खोप कार्यकर्ता र ४१ जना स्वयंसेवक खटिने जनस्वास्थ्य निरीक्षक माधव आचार्यले जानकारी दिनुभयो ।