मौलाकालिका मन्दिर धार्मिक सेवा समितिको ४६औँ वार्षिक साधारण सभा सम्पन्न
‘मौलाकालिका मन्दिरको गौरवमय इतिहास’ पुस्तक विमोचन
गैंडाकोट । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको ४६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार गैंडाकोट–१ बागखोरस्थित संस्थाको कार्यालय परिसरमा सम्पन्न साधारण सभाको अवसरमा “मौलाकालिका मन्दिरको गौरवमय इतिहास” नामक पुस्तकसमेत विमोचन गरिएको हो ।
मन्दिरका संस्थापक सचिव मानबहादुर सापकोटाद्वारा लिखित उक्त पुस्तकको विमोचन प्रमुख अतिथि मन्दिरका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूले गर्नुभएको थियो । करिब ५०० पृष्ठको पुस्तक धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले प्रकाशन गरेको हो ।
कार्यक्रममा बोल्दै संरक्षक स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूले वैदिक सनातन धर्म, संस्कार र संस्कृति नै नेपाल र नेपालीको पहिचान भएको उल्लेख गर्दै यसको संरक्षणका लागि सबै एकजुट हुन आग्रह गर्नुभयो ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले समिति सामाजिक तथा आध्यात्मिक कार्य गर्ने संस्थाका रूपमा निरन्तर अघि बढिरहेको बताउनुभयो ।कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, समितिका प्रमुख सल्लाहकार ज्ञानेन्द्रविक्रम महत, उपप्रमुख शान्ति कोइराला, पुस्तकका सम्पादक डा. रामचन्द्र कडेल, सम्पादक सदस्य कृष्णमणि पहारी, आजीवन सदस्यका तर्फबाट कमल कँडेल तथा परिवारका तर्फबाट लेखककी छोरी मनुरथा अधिकारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । वक्ताहरूले मन्दिरले उल्लेखनीय प्रगति गर्दै भक्तजनको सेवामा निरन्तर समर्पित रहेको बताउनुभयो ।
गैंडाकोट–१ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले नीति, विधि र पद्धतिमा रहेर मौलाकालिका मन्दिरले उत्कृष्ट कार्य गर्दै आएको उल्लेख गर्नुभयो ।
साधारण सभामा सचिव श्यामसुन्दर पराजुलीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुगमप्रसाद ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै, आन्तरिक लेखा परीक्षण प्रतिवेदन संयोजक शोभाकान्त काफ्ले, अनुगमन तथा मूल्यांकन उपसमितिको प्रतिवेदन संयोजक काशीनाथ कँडेल, मौलाकालिका संस्कृत विद्यापीठको प्रतिवेदन व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद सापकोटा तथा मौलाकालिका आध्यात्मिक पुस्तकालयको प्रतिवेदन संयोजक भूमिश्वर शर्मा पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष खगेन्द्रदास कँडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजीकरण सचिव श्यामसुन्दर पराजुलीले गर्नुभएको थियो ।
साधारण सभामा गैंडाकोट क्षेत्रभित्रका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, मन्दिरका सल्लाहकार, पूर्व अध्यक्ष, जनप्रतिनिधि, आजीवन तथा साधारण सदस्यहरूको उपस्थिति रहेको थियो । यस अवसरमा ०८२ मंसिर मसान्तसम्म बनेका ७८ जना आजीवन सदस्यलाई सम्मान गरिएको थियो ।
मौलाकालिका संस्कृत विद्यापीठका दुई जना विद्यार्थीले संस्कृत र अंग्रेजी भाषामा मन्तव्य राखेका थिए भने गुरुकुलका ८ जना विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
मन्दिरको नयाँ कार्यसमिति चयनका लागि ओमप्रसाद सापकोटाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ, जसका सदस्यमा चुडामणि गौतम र सुरेश पण्डित रहनुभएको छ । सकेसम्म सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने तयारी रहेको संयोजक सापकोटाले बताउनुभयो ।
हाल धार्मिक सेवा समिति मौलाकालिका मन्दिरमा १ हजार ३ सय १३ जना सदस्य रहेका छन् ।