भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै

२०८२ फाल्गुण १ शुक्रबार १६:५३:०० मा प्रकाशित

चितवन । भरतपुर विमानस्थलबाट काठमाडौंँ र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो । निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको बताउनुभयो ।


उहाँले भन्नुभयो, “यही फागुन ६ गतेबाट रिफिलिङ् गर्ने गरी काम भइरहेको छ । डिपो स्टेशन स्थापनाका लागि दुई थान रिफ्युलर र एक थान मोबाइल डिस्पेन्सरको व्यवस्था गरिएको छ । दिगो रूपमा काम गर्न भने छ महिनादेखि एक वर्ष लाग्ने छ ।”

 

जमिनमुनि वा माथि ट्याङ्की राखेर काम गर्नका लागि समय लाग्ने भए पनि तत्काल इन्धन जहाजमा भर्ने व्यवस्था मिलाउन समय नलाग्ने उहाँले बताउनुभयो । निगमले यहाँ ३० किलोलिटर इन्धन भण्डारण र व्यवस्थापनका लागि रु चारदेखि पाँच करोड खर्च हुने जनाएको छ ।

 

नेपाल नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले प्राधिकरणसँग जग्गा सम्झौता भएको र बाँकी सबै काम निगमले गर्ने बताउनुभयो । यस कार्यबाट त्यस क्षेत्रमा उडान भर्ने जहाज लाभान्वित हुने बताउनुभयो ।

 

बुद्ध एयरले भरतपुरबाट काठमाडौँ र पोखरा गरी दैनिक सात वटा जहाज उडान भर्दै आएको छ । दुईवटा ४७ सिटका र पाँचवटा ७२ सिटका जहाजले यहाँबाट उडान भरिरहेका बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले जानकारी दिनुभयो । यहाँ तेल भर्ने व्यवस्था भए काठमाडौँबाट यहाँ आउने जहाजमा थप दुई जना यात्रु ल्याउन सकिने उहाँको भनाइ छ ।

 

बुद्ध एयरको ७२ सिटको जहाजले काठमाडौँबाट आउँदा हाल ७० जना बोक्ने गरेको छ भने गर्मीयाममा ६० जना बोक्नुपर्ने बाध्यता छ । बस्नेतका अनुसार यहाँबाट उड्दा भने हाल ५५ जना र गर्मीयाममा ४० जना बोक्ने गरिएको छ ।

 

यस्तै, ४७ सिटको जहाजले हाल काठमाडौँबाट आउँदा ४५ जना र फर्कदाँ ४३ जना लिएर जाने गरेको छ । गर्मीयाममा काठमाडौँबाट आउँदा ३५ जना र यहाँबाट जाँदा ३३ जना हाराहारी यात्रु बोकेर जाने गरेको छ । रासस