श्री नन्दन वडा स्तरीय टोल विकास सञ्जालको तेस्रो साधारण सभा सम्पन्न
गैँडाकोट । गैँडाकोट वडा नम्वर ८ मा रहेको श्री नन्दन वडा स्तरीय टोल विकास सञ्जाल समितिको तेस्रो साधारण सभा भएको छ। बुधबार गैंडाकोट वडा नं ८ को वडा कार्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गैंडाकोट वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम सापकोटाले वडामा भएका विभिन्न कार्यक्रममा सञ्जालले गर्दा कार्यक्रम गर्न सजिलो भएको बताउनुभयो। वडा अध्यक्ष सापकोटाले वडाभित्र विकास निर्माणको लागि, जेष्ठ नागरिकका लागि, बिभिन्न तालिमहरुको लागि उल्लेखनीय सहयोग मिलेको बताउनुभयो । सापकोटाले सञ्जाल मार्फत वडालाई धेरै सहयोग मिलेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो।
गैँडाकोट वडा नम्बर ८ टोल विकास सञ्जालका अध्यक्ष शशीधर न्यौपानेले कुनै पनि काम जानि, नजानि भए पनि अगाडि सर्ने र अगाडि बढिरहने भने गन्तव्यमा पुग्न सकिने बताउनुभयो। न्यौपानेले भन्नुभयो “वडाले सञ्जाललाई जुन तरिकाबाट सहयोग गरेको कारण सञ्जाल यहाँसम्म आएको हो । उहाँले सहयोगी हातहरू दोहोरो भएको कारणले पनि हामी अगाडि बढ्न सहज भएको बताउनुभयो ।
कार्यक्रममा सञ्जालका संस्थापक अध्यक्ष खगेश्वर गौडेल, समाजसेवी व्यक्ति घनश्याम कंडेलले शुभकामना मन्तव्य राख्दै संस्थाले वडालाई पनि सहयोग गर्ने र वडाले पनि सञ्जाललाई सहयोग गरेकोले यति ठूलो उपलब्धि पाएको बताउनुभयो ।
साधारण सभामा सञ्जालको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सचिव पद्मा सुवेदीले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा वडा जनप्रतिनिधि कमला आचार्य, तर्कबहादुर थापा, जेष्ठ नागरिक गैडाकोट वडा नं ८ का अध्यक्ष ज्योतिष हरिप्रसाद सापकोटा तथा विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
गैंडाकोट वडा नं ८ मा ११ वटा टोल विकास संस्था रहेका छन्। कार्यक्रमको सहजीकरण सचिव पद्मा सुवेदीले गर्नुभएको थियो।