गैंडाकोट इंग्लिस स्कुलमा विद्यार्थी एक्सचेन्ज कार्यक्रम: अनुभवमार्फत सिकाइ
गैंडाकोट । गैंडाकोटमा रहेको गैंडाकोट इंग्लिस स्कुलले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक तथा अनुभवजन्य शिक्षामा जोड दिँदै Student Exchange Programme सञ्चालन गरेको छ। विद्यालयले काठमाडौंमा रहेको ब्राइट फ्युचर सेकेन्डरी स्कुल (bridge future secondary school)सँगको सहकार्यमा उक्त कार्यक्रम अघि बढाएको हो।
यस कार्यक्रमअन्तर्गत भदौ महिनामा गैंडाकोट इंग्लिस स्कुलका ८ जना विद्यार्थी र १ जना शिक्षकको नेतृत्वमा काठमाडौंस्थित (bridge future secondary school) ब्राइट फ्युचर सेकेन्डरी स्कुलको शैक्षिक भ्रमण सम्पन्न गरेको थियो। चार रात पाँच दिनको बसाइका क्रममा विद्यार्थीहरू पार्टनर विद्यार्थीका रूपमा एकअर्काको घरमा बसेर त्यहाँको शैक्षिक वातावरण, संस्कृति र जीवनशैलीको प्रत्यक्ष अनुभव गरी गैंडाकोट फर्किएका थिए।
त्यसैक्रममा केही दिनअघि काठमाडौंस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुलका ८ जना विद्यार्थी र १ जना शिक्षक गैंडाकोट इंग्लिस स्कुल आएका छन्। चार रात र पांच दिनको बसाइपछि उनीहरू मंगलबार काठमाडौं फर्किने भएका छन् ।
बसाइको अवधिमा विद्यार्थीहरूले गैंडाकोटको मौलाकालिका मन्दिर, चितवनको सौराहा जिप सफारी, थारु नाच, स्थानीय महोत्सव तथा विभिन्न ऐतिहासिक र पर्यटकीय स्थलहरूको अवलोकन गरेका छन्। साथै फरक-फरक परिकारका खानाको स्वाद लिँदै स्थानीय संस्कार र संस्कृतिबारे प्रत्यक्ष अनुभव गरेका छन्।
गैंडाकोट इंग्लिस स्कुलकी Academic Director रेखा श्रेष्ठले विद्यार्थीहरूलाई कक्षाकोठामा सीमित नराखी प्रत्यक्ष अनुभव गराएर सिकाउने उद्देश्यले bridge future secondary school सँगको सहकार्यमा सञ्चालन गरिएको बताउनुभएको छ । उहाँका अनुसार, “विद्यार्थीहरूले आफैं गएर देख्ने, बुझ्ने र भोग्ने अवसर पाउँदा उनीहरूको आत्मविश्वास बढ्नुका साथै सामाजिक सीप, अनुशासन र नेतृत्व क्षमता विकास पुगेको छ।”
यस्तै, ब्राइट फ्युचर सेकेन्डरी स्कुल, काठमाडौंका शिक्षक प्रमोद अर्यालले सुनेर सिक्छन्, देखेर जान्दछन् र गरेर भोग्दछन् भन्ने अवधारणालाई व्यवहारमा उतार्न यस्तो कार्यक्रम थालनी गरिएको बताउनुभएको छ । उहाँले गैंडाकोट आगमनपछि मन्दिरहरूको अवलोकन, जिप सफारी, थारु नाच तथा विभिन्न परिकारको स्वाद लिन पाउँदा विद्यार्थीहरू निकै उत्साहित भएको जानकारी दिनुभयो।
विद्यार्थीहरूका अनुसार यस कार्यक्रमले नयाँ ठाउँको अनुभव, फरक संस्कृतिको ज्ञान, आपसी मित्रता र आत्मनिर्भर बन्ने आत्मविश्वास विकास गरेको छ। अभिभावकहरूले पनि आफ्ना बालबालिकामा अनुशासन, मेलमिलाप, जिम्मेवारीबोध र आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन्।
विद्यालयले आगामी दिनमा पनि यस्ता व्यवहारिक सिकाइका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।