नवलपुरका १६ उम्मेद्वार, अघिल्लो चुनावमा प्रमुख दलको अवस्था के थियो ?
नवलपरासी पूर्व । नवलपुर क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फ १६ जनाको उम्मेद्वारी परेको छ । निर्वाचन कार्यालयमा उल्लेख रहेको उम्मेद्वारको स्थाइ ठेगाना अनुसार गैँडाकोटका ४ जना, देवचुलीका ५ जना, कावासोतीका ५ जना, बुलिङटारका १ जना र मध्यविन्दुका १ जना उम्मेद्वार निर्वाचनको प्रतिष्पर्धामा छन् ।
नेपाली काँग्रेसको तर्फबाट कावासोतीका बालकृष्ण घिमिरे सांसद पदका लागि प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । यस क्षेत्रमा अघिल्लो चुनावमा नेपाली काँग्रेसका उम्मेद्वार डा. शशांक कोइरालाले २७ हजार ६७ मत प्राप्त गर्नुभएको थियो । समानुपातिक तर्फ दलले २३ हजार ४१ मत पाएको थियो । १८ वर्षपछि पहिलो पटक नेपाली काँग्रेसले स्थानीय उम्मेद्वार उठाएको छ ।
नेकपा एमालेबाट गँैडाकोटका भागिरथ सापकोटाको उम्मेद्वारी रहेको छ । उद्योग व्यवसायमा छवि बनाएका सापकोटालाई नेकपा एमालेले उम्मेद्वार बनाएको छ । यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट कृष्ण पौडेलले २५ हजार ४७ मत प्राप्त गर्नुभएको थियो । समानुपातिक तर्फ एमालेका लागि २२ हजार १ सय ५० मत खसेको थियो ।
पुष्पकमल दाहाल संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट रजहरका लोकप्रसाद भूर्तेल उम्मेद्वार हुनुहुन्छ । पुष्पकमल दाहाल र माधवकुमार नेपालहरुले बामपन्थी पार्टीहरु एकीकरण गरेर पार्टीको नाम र चुनाव चिन्हपनि परिवर्तन गरेर यो दल चुनावी मैदानमा छ ।
अघिल्लो पटक पुष्पकमल दाहाल नेतृत्वको (नेकपा माओवादी/नेपाल समाजवादी पार्टी) प्रत्यक्ष तर्फ उम्मेद्वार थिएनन् भने समानुपातिक तर्फ ३ हजार ६ सय ५ मत प्राप्त गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यस पटक पनि अघिल्लो निर्वाचनका उम्मेद्वार नै चुनावी मैदानमा उत्रिनुभएको छ । रास्वपा उम्मेद्वार राजन गौतमले अघिल्लो निर्वाचनमा २४ हजार ३ सय ५ मत प्राप्त गर्नुभएको थियो । समानुपातिक तर्फ भने रास्वपा धेरै मत प्राप्त गर्नेमा पहिलो दल बन्दै २५ हजार ७ सय ७४ मत प्राप्त गरेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यस पटकको निर्वाचनमा बुलिङटारका दिपकचन्द्र बस्ताकोटी निर्वाचनमा होमिनुभएको छ । अघिल्लो निर्वाचनमा राप्रपाबाट उम्मेद्वारी दिनुभएका डा. मोहनीलाल भुसालले ३ हजार ४ सय ६९ मत प्राप्त गर्नुभएको थियो । समानुपातिक तर्फ ५ हजार १ सय मत प्राप्त गरेको थियो ।
यसपटकको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट गँैडाकोटका चन्द्रदत्त सापकोटा, मंगोल नेशनल अर्गनाइजेसनबाट राजु गुरुङ, नेशनल रिपब्लीक नेपालका विष्णुमान विक, श्रम संस्कृति पार्टीका भिमचन्द्र गुरुङ, नेकपा माओवादीका बेलबहादुर सारु, राष्ट्रिय जनमुक्ति पार्टीका शत्रुघन थापा, उज्यालो नेपाल पार्टीका तर्फबाट पार्वती गुरुङसेनी, जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) का तर्फबाट छविलाल मगर, स्वतन्त्र उम्मेद्वारहरु अविनास सुनार, गोकुल शर्मा र विन्दु केसीको उम्मेद्वारी रहेको छ ।
समानुपातिक तर्फ अघिल्लो चुनावमा मंगोल नेशनल अर्गनाइजेसनले ७ सय ६०, राजपाले ५ सय ८४, नाउपाले ५ सय ८४, हाम्रो नेपाली पार्टीले ४ सय ८९, राष्ट्रिय जनमोर्चाले ३ सय १ र अन्य साना दलहरुले तीनसय भन्दा कम मत प्राप्त गरेका थिए ।