अफगानिस्तानमा भारी हिमपातः ६१ जनाको मृत्यु, ११० घाइते
काबुल । अफगानिस्तानमा बुधबार र बिहीबार भएको भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको छ । आँधीबेहरीका कारण ४ सय ५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शनिबार जारी गरेको विज्ञप्तिअनुसार मृतकको संख्या ६१ र घाइतेको संख्या १ सय १० भन्दा बढी रहेको छ । हिमपात र वर्षाका कारण भएको हताहतीको विभिन्न क्षेत्रहरूबाट रिपोर्ट संकलन गर्ने क्रम अझै जारी छ र हताहत हुनेको संख्या बढ्ने सम्भावना देखिन्छ, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विगत तीन दिनयता अफगानिस्तानका अधिकांश क्षेत्रहरूले चिसो तापक्रम र भारी हिमपातको सामना गर्नुपरेको छ, जसका कारण राष्ट्रिय राजधानी काबुल र कैयौँ प्रान्तहरूबीचको महत्वपूर्ण सञ्जालसहित धेरै प्रमुख राजमार्ग र सडकहरू बन्द भएका छन् । रासस