चौथो गैँडाकोट महोत्सव: बुधबार चर्चित गायिका रचना रिमाल सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने
गैँडाकोट । चौथो गैँडाकोट महोत्सवको सांस्कृतिक कार्यक्रममा भोली बुधबार चर्चित गायिका रचना रिमाल आउने भएकी छिन् । नवलपुरको गैँडाकोट-२ स्थित नारायणी नदी किनारमा जारी महोत्सवमा रिमालसहित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए ।
महोत्सवमा बुधबार रिमालसँगै उमादवी खनाल, प्रजापति पराजुली, बलराम गिरी, बन्दना विश्वकर्मा लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने लम्सालले जानकारी दिए । महोत्सवमा हरेक दिन नै स्थानीय कलाकारको समेत प्रस्तुती रहने लम्सालको भनाइ छ । पुस २५ गते महोत्सव सुरु भएपछि दोस्रो दिनबाट महोत्सवमा हरेक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकरहरुले प्रस्तुती राखेका लम्सालले बताए । महोत्सवको बाँकी दिनमा समेत अन्य चर्तित कलाकारहरु महोत्सवमा आफ्ना प्रस्तुती राख्न आउने लम्सालको भनाइ छ ।
आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सवमा दर्शकहरुको आकर्षण उल्लेखनीय रहेको छ । स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको सापकोटाले बताए । सापकोटाकाअनुसार महोत्सवमा नवलपुरबाट मात्रै नभइ चितवन र तनहुँसहित अन्य क्षेत्रबाटसमेत दर्शकहरु आएका छन् ।
माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा ओपेरा हाउस, जलपरी, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाले बताए । महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका सापकोटाको भनाइ छ । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरणमा सघाउने विश्वास लिइएको उनले बताए ।