चितवन राष्ट्रिय निकुञ्जले बढायो उच्च सतर्कता
चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ को मिति नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारी हुनसक्ने जनाउँदै उच्च सतर्कता बढाएको छ । निर्वाचनका समयमा नयाँ मानिसहरूको आवतजावत बढ्ने र चोरी सिकारी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले स्थानीय, सरोकारवाला निकायहरूसँगको सहकार्यमा सुरक्षा व्यवस्था मिलाइएको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज प्रशासनले आन्तरिक तथा बाह्य सुरक्षाको व्यवस्था गरेको छ । निर्वाचन लागेपछि चोरी सिकारीको खतरा बढ्ने भएकाले निकुञ्जले त्यहीअनुसार व्यवस्थापन गरेको उहाँले बताउनुभयो । निकुञ्ज क्षेत्रको कोर इलाकाभित्र र मध्यवर्ती एवं आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाइएको छ ।
उहाँका अनुसार चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी तथा कर्मचारी र स्थानीयलाई निर्वाचनको समयमा सजग हुन आग्रह गरिएको छ । उहाँले भन्नुभयो, “प्रतिनिधिसभा निर्वाचनको समयमा निकुञ्ज सुरक्षाका लागि हामी तयार छौँ ।” निकुञ्जभित्र र आसपासका क्षेत्रमा गस्ती बढाउने, एम्बुसिङ, स्विमिङलगायत कामलाई निरन्तर कायम राखिने छ । ९५२.६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्जमा २२ वटा मध्यवर्ती उपभोक्ता समिति छन् । निकुञ्जभित्र स्थायी ५७ वटा र अस्थायी तीनवटा पोष्ट छन् । उहाँले भन्नुभयो, “सबै पोष्टलाई उच्च सतर्कमा रहन भनिएको छ । कर्मचारी पनि सोहीअनुसार परिचालन गरिएको छ ।”
पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष साजनकुमार महतो निर्वाचन नजिकिएसँगै उपभोक्ता समितिले पनि उच्च सतर्कता अपनाएको बताउनुहुन्छ । निर्वाचनको समयमा नकारात्मक सोच राखेका व्यक्ति सलवलाउन सक्ने भएकाले सबै उपभोक्तासहितले आ-आफ्नो ठाउँबाट चनाखो भएर काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चोरी सिकारी हुनसक्छ कि भनेर निगरानी बढाइएको छ । चनाखो रहन सबै उपभोक्तालाई आग्रह गरिएको छ ।” उपभोक्ता समितिहरू वन्यजन्तु संरक्षणका लागि सधैँ एक भएर काम गर्दै आएको उहाँको भनाइ छ ।
अहिले निकुञ्ज क्षेत्रमा रहेका मध्यवर्ती उपभोक्ता समितिहरूको निर्वाचन पनि भइराखेकाले केही बढी सक्रियता बढेको छभने संरक्षण शिक्षाका बारेमा पनि ज्ञान दिइँदै आएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्त निर्वाचनको समयमा सबैको ध्यान निर्बाचनतर्फ केन्द्रित हुँदा चोरी सिकार हुनसक्ने भएकाले पूर्वतयारीस्वरुप कडाइका साथ काम गरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामी सधैँ चनाखो अवस्थामा रहन्छौँ, यतिबेला थप चनाखो बनेका छौँ ।”रासस