मौलाकाली र लुम्बिनी केवलकारबीच सहकार्य, यात्रुहरूलाई २०% छुट

२०८२ माघ ५ सोमबार १८:१५:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोटमा रहेको मौलाकाली केवलकार र बुटवलमा रहेको लुम्बिनी केवलकारबीच आपसी सहकार्य गर्दै यात्रु सुविधामा विशेष छुट दिने सम्झौता भएको छ । अब एउटामा यात्रा गरेका यात्रुले अर्को केवलकारको यात्रामा २० प्रतिशत छुट पाउने भएका छन् ।


यस सम्झौतामा मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार छुट प्राप्त गर्न अघिल्लो यात्रा टिकट देखाउनुपर्नेछ र टिकट काटेको मितिबाट तीन महिनासम्म यो सुविधा उपलब्ध हुनेछ ।


हाल यात्रुहरूले अघिल्लो केवलकारको टिकट देखाएर छुट पाउन सक्ने र भविष्यमा यसलाई अझ व्यवस्थित र सहज बनाउने योजना बनाइरहेको मौलाकाली केवलकारका स्टेशन म्यानेजर  सुरज पौडेलले बताउनुभयो । त्यस्तै, यो सहकार्यले एकले अर्को गन्तव्य प्रवद्र्धन गरी पर्यटन विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले जानकारी दिनुभयो । 


मौलाकाली केवलकार नवलपुरको गैंडाकोटमा अवस्थित छ, जहाँबाट यात्रुहरूले १५औं शताब्दीदेखिको इतिहास बोकेको प्रसिद्ध मौलाकालिका मन्दिर पुग्न सक्नेछन् । 


त्यसैगरी, लुम्बिनी केवलकार बुटवलको गोलपार्कमा रहेको छ, जहाँबाट यात्रुहरूले पाल्पाको वसन्तपुर डाँडामा अवस्थित माँ कामाख्या मन्दिर पुग्न सक्नेछन्।