गैंडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारीको ३२ औं साधारण सभा सम्पन्र

२०८२ मङ्सिर २३ मंगलबार १७:४२:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट  दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेडको ३२ औं साधारण सभा मंगलबार सम्पन्र भएको छ। गैंडाकोट–८ स्थित संस्थाको आफ्नै भवनमा भएको सभामा बोल्दै प्रमुख अतिथि तथा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सहकारीले उत्पादनमुखी क्षेत्रमा काम गरे सदस्य र संस्था दुवैको हित हुने बताउनुभयो। कृषि तथा पशुपालन क्षेत्रमा सहकारीले गरेको कामको प्रशंसा गर्दै उहाँले सहकारीले रोजगारी अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो।

सहकारीका अध्यक्ष अगन्धर सापकोटाले स्थानीय रूपमा छरिएर खेर गइरहेको दुधलाई संकलन तथा व्यवस्थित व्यवस्थापन गरी किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले सहकारी स्थापना भएको जानकारी दिनुभयो। हाल संस्थाले किसानका गाई–भैंसीका लागि आवश्यक दाना, ढुटो, चोकर लगायतका सामग्री उपलब्ध गराउँदै आएको र विभिन्न जातका घाँसका बीउ वितरण गर्दै आइरहेको बतानुभयो । साथै, किसानबाट संकलित कच्चा दूधको विधिकरणका लागि उद्योग दर्ता प्रक्रियामा अगाडि बढिरहेको र भविष्यमा दूध प्याकेजिङ गरी उपभोक्ताको घरघरै पु¥याउने लक्ष्य पनि संस्थाले लिएको जानकारी दिनुभयो। 

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव रुद्रप्रसाद पौडेलले सुरुमा दैनिक ६५ सय लिटर दूध संकलन गर्दै आएको सहकारी हाल ८०० देखि १ हजार लिटरमा सीमित हुनुपरेको जानकारी दिनुभयो। उहाँका अनुसार सहकारीलाई थप मजबुत बनाउन कच्चा दूधको विविधिकरण गर्दै दूधजन्य परिकार उत्पादन गर्ने, ती परिकारको बजार व्यवस्थापन गर्ने र स्थानीय बिक्रीमा वृद्धि गर्न किसानमुखी कार्यक्रम लागू गरिँदै जानुपर्ने बताउनुभयो।

कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक चन्द्रमणी पौडेलले संस्थामा ४८ लाख ९९ हजार ८ सय रुपैयाँ सेयर पूँजी रहेको उल्लेख गर्दै आगामी वर्ष ४ लाख ७२ हजार ८ सय रुपैयाँ मुनाफा गर्ने अनुमान गरिएको जानकारी दिनुभयो। यस वर्ष संस्थाले १ करोड १७ लाख ५८ हजार ५ सय ६१ रुपैयाँ बचत गर्न सफल भएको पनि बताउनुभयो।

लेखा समितिका सदस्य शालिकराम सापकोटाले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको निरन्तर विकासका लागि सेयर सदस्य तथा दुग्ध उत्पादक कृषकहरूको हितमा अघि बढ्ने सुझाव दिनुभयो ।

उपाध्यक्ष सूर्यप्रसाद पराजुलीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सहजीकरण सचिव रुद्रप्रसाद पौडेलले गर्नुभएको थियो। कार्यक्रममा गैंडाकोट–८ का वडाध्यक्ष प्रेम सापकोटा, गैंडाकोट–५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, गैंडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतम, संस्थाका सल्लाहकार केशवप्रसाद सापकोटा, विनायक कृषि सहकारीका अध्यक्ष तिलकप्रसाद कंडेललगायतको उपस्थिति रहेको थियो।