जापानमा ७.६ म्याग्निच्युडको भूकम्पः सुनामीको चेतावनी

२०८२ मङ्सिर २३ मंगलबार १४:०३:०० मा प्रकाशित

काठमाडौं । जापानको उत्तर-पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।

 

जापान मौसम विज्ञान एजेन्सीले स्थानीय समय अनुसार राति ११ः१५ बजे गएको ७।६ म्याग्निच्युडको भूकम्पपछि होक्काइडो, आओमोरी र इवाते प्रिफेक्चरका तटीय क्षेत्रलाई विशेष सतर्क रहन आग्रह गरेको छ।

 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भूकम्पको केन्द्र आओमोरी प्रिफेक्चरको तटदेखि करिब ८० किलोमिटर टाढा र ५० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। शक्तिशाली धक्काले जापानको उत्तर र पूर्वका विस्तृत भूभागमा कम्पन महसुस गरिएको थियो ।

 

जापानी सार्वजनिक प्रसारक एनएचकेका अनुसार जापान मौसम विज्ञान एजेन्सीले होक्काइडो, आओमोरी र इवातेमा सुनामी चेतावनी जारी गरेको छ भने मियागी र फुकुशिमाका तटीय क्षेत्रमा सुनामी परामर्श जारी छ। प्रभावित क्षेत्रका नागरिकलाई उच्च स्थानतर्फ सर्न र समुद्री किनारबाट टाढा रहन आग्रह गरिएको छ।