कालिकाको नगरस्तरीय अन्तर मावि हाजिर जवाफ प्रतियोगितामा अक्सफोर्ड प्रथम
गैडाकोट । कालिका नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा नगरस्तरीय अन्तर माध्यमिक विद्यालय हाजिर जवाफ प्रतियोगितामा सम्पन्न भएको छ ।
मंगलबार विद्यालयको प्रांगढमा भएको प्रतियागितामा अक्सफोर्ड सेकेन्डरी स्कुल प्रथम भएको हो । प्रतियोगितामा अमर ईग्लिस स्कुल द्वितीय भएको छ भने सरस्वती निकेतनले तृतीय स्थान हासिल गरेको छ। त्यस्तै बाल विकास स्कुलले सान्त्वना स्थान हासिल गरेको छ। प्रतियोगितामा बिजयी हुने समुहलाई नगद पुरस्कार सहित प्रशंसापत्र र मेडल प्रदान गरिएको कार्यक्रम संयोजक गोबिन्द चालिसेले जानकारि दिनुभयो । प्रतियोगितामा गैडाकोट नगरपालिकाका १६ विद्यालयको सहभागिता रहेको थियो।
कार्यक्रममा गैंडाकोट शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत रामप्रसाद अधिकारीले नियमित पठनपाठन जस्तै विद्यार्थीहरुलाई विभिन्न गतिविधिमा समानुपातिक रुपमा समावेश गरेर अगाडि लैजान आग्रह गर्नुभयो। शाखा अधिकृत अधिकारीले भन्नुभयो,“ आज कालिका नमुना माध्यमिक विद्यालय नमुनातर्फ उन्मुख भइरहेको छ। अब विद्यालय नगरकै एक नम्बरको विद्यालय हुनको लागि विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक, स्टाफ, विद्यार्थीहरू सबै एकजुट भएर अन्तिम लक्ष्य सिकाई सुधारको लागि लाग्नुपर्छ । नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयलाई सहयोग गरिरहेको छ र अगामि दिनमा पनि सहयोग गर्ने उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो कार्यक्रमको सहजीकरण विद्यालय शिक्षक राजुपुरीले गर्नुभएको थियो।
कार्यक्रममा विद्यालय सल्लाहकार शालिकराम सापकोटा,निबर्तमान प्रधानध्यापक प्रजानाथ कंडेल, प्रतियोगितामा सहभागिता जनाएका विद्यालयका शिक्षकहरूको पनि उपस्थिति रहेको थियो।
यस्तै विद्यालयको स्वर्ण महोत्सवको अवसरमा मंसिर १७ गते अन्तर महिला अभिभावक हाजिरीजवाफ प्रतियोगिता र बत्ति कात्ने प्रतियोगिता, मंसीर १८ गते हाफ म्याराथुन प्रतियोगिता, मंसिर १८ देखि १९ सम्म आन्तरिक वौद्धिक, साहित्यिक र रचनात्मक कार्यक्रम, मंसिर २० गते रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर, शहिद गंगालाल मुटु अस्पतालका चिकित्सकद्वारा मुटुरोग परिक्षण, मंसीर २१ गते अभिभावक ब्याडमिन्टन र म्युजीकल चियर प्रतियोगिता, मंसिर २२ गते ७ ए साइड शिक्षक फुटसल प्रतियोगिता, मंसिर २३ गते विभिन्न समिति एवं शिक्षक कर्मचारी अन्र्तक्रिया र खुला भजन प्रतियोगिता, मंसिर २४ गते नगर स्तरीय अन्तर मा.वि शैक्षिक प्रर्दशनी प्रतियोगिता र खुला लोक गीत प्रतियोगिता, मंसिर २५ गते अक्षयकोष, छात्रवृत्ति, पुरस्कार र सम्मान कार्यक्रम, मंसिर २७ गते स्वर्ण जयन्ती मूल समारोह र पुस ४ गते समिक्षा एवम् धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरिएको छ ।