आईसीसी टी–२० विश्वकप छनोटः नेपालले आज युएईसँग खेल्दै

२०८२ असोज २६ आइतबार ०७:०२:०० मा प्रकाशित

आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेल आजदेखि सुरु हुँदैछन्। नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ। ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ।

सुपर सिक्सको आफ्नो पहिलो खेलमै नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईसँग प्रतिस्पर्धा गर्दा यस खेललाई नेपाल क्रिकेट संघ–क्यानले एल क्लासिकोको संज्ञा दिएको छ। दुबै टोलीले पछिल्लो सयम टेस्ट राष्ट्रहरूलाई हराइसकेका छन्। त्यसैले यो खेल २ अंकको लडाइँ मात्र नभई आत्मविश्वासको युद्ध हुनेछ।


प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो। नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो। युएईविरुद्ध प्रतिस्पर्धामा उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ।


युएई पनि समूह चरणका दुवै खेलमा जितसहित सुपर–६ मा आएको हो। समूह ‘ए’मा युएईले कतारलाई सात विकेटले हराएको थियो। युएईले मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो। नेपालले सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले प्रतिस्पर्धा गर्ने टिममा युएईसँगै कतार, ओमान र समाओ छन्। नेपालले आफ्नै समूहबाट सुपर–६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन।


अब यो चरणमा हुने १२ खेलपछि शीर्ष ३ स्थान हासिल गर्ने टोलीले २०२६ फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन्। नेपालले आफ्नो दोस्रो खेलमा सोमबार कतारसँग खेल्ने छ। बुधबार ओमानसँग खेलेपछि सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्ने छ।