गैंडाकोटमा मगर ढुट र अक्खा लिपिको महत्वबारे अन्तरक्रिया कार्यक्रम सम्पन्र ,पुस्तक विमोचन 

२०८२ असोज २५ शनिबार १९:५०:०० मा प्रकाशित

गैंडाकोट । नेपाल मगर लेखक संघ नगर समिति गैंडाकोटको आयोजनामा  “मगर ढुट र अक्खा लिपिको महत्व तथा कार्यान्वयन ”विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। मगर भाषाको महत्व र लिपिको आवश्यकताबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
नेपाल मगर लेखक संघ नगर समिति गैंडाकोटका अध्यक्ष टिकाराम सारु मगरले मगर भाषा र लिपिको संरक्षणका लागि यस्ता कार्यक्रमहरू अत्यावश्यक रहेको बताउनुभयो। उहाँले मगर समुदायमा भाषा र लिपि प्रतिको अभिरुचि बढ्दै गएको उल्लेख गर्दै यसको अध्ययन र प्रयोगलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमका अवसरमा “मगरढुट र अक्खा लिपी पाहिङ” पुस्तकको विमोचन गरिएको थियो।
नेपाल मगर लेखक संघ केन्द्रीय समितिका उपाध्यक्ष हेमा आले मगरले मगर ढुट र अक्खा लिपिलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले मगर भाषार संस्कृति जोगाउन लिपिको ठूलो भूमिका रहेको बताउँदै यसको बृहत् कार्यान्वयन का लागि सबै तहबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले मगर भाषा र संस्कृति संरक्षणमा लिपिको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले नवलपुरमा स्थानीय पाठ्यक्रममा मगर भाषा समावेश गर्ने तयारी भइरहेको र यसलाई प्रभावकारी बनाउन पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा  नेपाल मगर संघ नगर समिति गण्डकी प्रदेशका अध्यक्ष खडक पामि आले मगर, उत्तम प्रसाद बकावल मगर, दुर्गा बहादुर पुन मगर, दुर्गा बहादुर मसराड्डी मगर लगायतको सहभागी रहेको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले मगर भाषाको अभिलेखीकरण, प्रकाशन र वितरणको कामलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए। उनीहरूले भाषा विस्तारका लागि समुदाय, स्थानीय तह र सरोकारवाला बीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमको सञ्चालन संघकी सचिव करिश्मा गरंजा मगरले गर्नुभएको थियो।