किसान साकोसको ३०औँ वार्षिक साधारण सभा अन्तर्गत इकाई १ र २ का सभाहरू सम्पन्न

गैंडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३०औँ वार्षिक साधारण सभा अन्तर्गत इकाई नं. १ र २ को सभा सफलतापूर्वक सम्पन्न भएको छ भने इकाई नं. ३ को सभा असोज २७ गते हुने भएको छ।
इकाई नं. १ अन्तर्गत पाँच सेवाकेन्द्र - सर्दी, दुम्किवास, अरुणखोला, भविष्य निर्माण र पञ्चवटीको सभा नेवा गुठी सभाहल, मध्यविन्दु १० अरुणखोलामा सम्पन्न भएको थियो ।
इकाई नं. २ अन्तर्गत नौ सेवाकेन्द्र- संवृद्धि, कुनाको, कावासोती, विष्णुनगर, पिठौली, देवज्योति, पञ्चदृष्टि, जनमुखी र अमरापुरीको सभा देवचुली पार्टी प्यालेस, देवचुली १३ दलदलेमा आयोजना गरिएको थियो ।
इकाई नं.१ को सभामा संस्थाका उपाध्यक्ष चिन्तामणी कण्डेलले अध्यक्षता गर्नुभएको थियो भने इकाई नं. २ को सभामा अध्यक्ष भोजराज पौडेलले सभाको अध्यक्षता गर्नुभएको थियो । दुबै सभामा लेखा सुपरिवेक्षण समिति, सञ्चालक समिति, कोषाध्यक्ष, सचिव, पूर्व अध्यक्ष, सल्लाहकार, केन्द्रीय विषयगत उपसमिति, सेवाकेन्द्र व्यवस्थापन उपसमिति, कर्मचारी र सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, वित्तीय प्रतिवेदन, लेखा निरीक्षण प्रतिवेदन, आन्तरिक लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट प्रस्तुत गरिएको थियो । प्रस्तुत १२ वटा प्रस्तावहरू सभाबाट सर्वसम्मत रुपमा पारित गरिएको थियो।
इकाई नं. ३ अन्तर्गतका १० सेवाकेन्द्र - हर्कपुर, मुकुन्दपुर, विजयनगर, सहज, हिमचुली, नारायणगढ, सप्तरंगी, समृद्धि भरपुर, सप्तगण्डकी र सौहार्दको सभा असोज २७ गते द नारायणी होटल, गौंडाकोट २ मा आयोजना हुने भएको छ। यससँगै निर्णय प्रमाणीकरणका लागि इकाई प्रतिनिधिहरूको बैठक असोज ३० गते द नारायणी होटल, गैंडाकोटमा आयोजना गरिने भएको छ।