जय श्री सामुदायिक वनले गर्यो वनरक्षक स्वर्गीय होमनाथ घिमिरेको शालिक अनावरण

२०८२ असोज २५ शनिबार १९:१२:०० मा प्रकाशित

गैंडाकोट । जय श्री सामुदायिक वन उपभोक्ता समूहले वनरक्षक स्वर्गीय होमनाथ घिमिरेको सम्मानमा शालिक अनावरण गरेको छ। वनको बाल उद्यान र वातावरणमैत्री उद्यान क्षेत्रमा पूर्णकदको शालिक निर्माण गरी शनिबार एक विशेष समारोहबीच अनावरण गरिएको हो।


सामुदायिक वनका अध्यक्ष भीमबहादुर कुमालका अनुसार वन संरक्षणमा उल्लेखनीय योगदान पु¥याएका स्वर्गीय घिमिरेको स्मृतिमा शालिक निर्माण गरी सम्मान गरिएको हो। उहाँले यसअघि कुनै समितिले यस्तो कार्य नगरेको उल्लेख गर्दै यसपालि फरक तरिकाले काम गरिएको बताउनुभयो। “वन संरक्षण सामूहिक जिम्मेवारी हो, यसमा सबैको योगदान महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो।


डिभिजनल वन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख वसन्त केशव अधिकारीले जय श्री सामुदायिक वनले गरेको कार्यलाई प्रशंसनीय बताएका छन्। “स्वर्गीय घिमिरेको योगदान अमूल्य छ। अन्य सामुदायिक वनहरूले पनि यो उदाहरणबाट सिक्नुपर्छ,” उहाँले भन्नुभयो। अधिकारीका अनुसार सन् २०५८ सालतिर वन संरक्षण चुनौतीपूर्ण रहेको समयमा घिमिरेले जीवनकै जोखिम मोलेर वन जोगाउने काम गर्नुभएको थियो।


कार्यक्रममा जय श्री वनका संस्थापक सहसचिव भक्ति रमण शर्माले स्वर्गीय घिमिरेको जीवनी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा गैंडाकोट–४ का वडाध्यक्ष तेजप्रसाद घिमिरे, वडा नं ५ सदस्यका न्यायिक समिति सदस्य द्रोण वन सन्यासी, सबडिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्र, सामुदायिक वन महासंघका केन्द्रीय सदस्य कमलप्रसाद पराजुली, गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटा, मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटा, भवानी टोल विकास संस्थाका अध्यक्ष गोविन्द घिमिरे, सल्लाहकार समितिका महेन्द्र कार्की, संस्थापक अध्यक्ष टोलनाथ घिमिरे, पूर्व अध्यक्ष ऋषिराम घिमिरेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।


स्वर्गीय घिमिरेका दाजु कृष्णप्रसाद घिमिरेले परिवारका तर्फबाट धन्यवाद ज्ञापन गर्दै शालिक निर्माणले परिवारलाई ठूलो सम्मानको अनुभूति भएको बताउनुभयो।


कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष ढाका सुवेदीले गर्नुभएको थियो भने सञ्चालन सचिव टेकबहादुर आलेले गर्नुभएको थियो।