विकू साकोसको ३६औं वार्षिक साधारण सभा सम्पन्न

गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको इकाई ३ अन्र्तगत शनिबार ३६औं वार्षिक साधारण सभा सम्पन्न भएकोे छ । कार्यक्रम गैंडाकोटस्थित विजय सामुदायिक शिक्षा सदनको प्राङ्गणमा भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले २६ जनाले दैनिक ५० पैसाबाट सुरु गरिएको सहकारी हाल करिब १ लाख २५ हजारभन्दा बढी सदस्य र झण्डै ११ अर्ब रुपैयाँ बराबरको वित्तीय कारोबारमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले हालसम्म विकू पूर्ण सदस्यता वडा घोषणा कार्यक्रम, बालबालिकाका लागि डिजिटल पार्क निर्माण, भान्सा साक्षरता कार्यक्रम, चौतारामा डाक्टर कार्यक्रम लगायतका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सचिव गोविन्द कँडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विकूले “बचत नै विकासको बिउ हो” भन्ने नीतिसाथ निरन्तर बचत संकलन र ऋण परिचालनमा केन्द्रित रहँदै आएको बताउनुभयो। उहाँले सहकारीको बचत, लगानी तथा सदस्य संख्या निरन्तर वृद्धि हुँदै गएको उल्लेख गर्नुभयो।
त्यस्तै, कोषाध्यक्ष पुष्पराज बरालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले १ अर्ब ८२ करोड ४५ लाख ७५ हजार रुपैयाँको पूँजी कोष निर्माण गरेको र ३५ अर्ब ९९ करोड ९२ लाख ७ हजार रुपैयाँ ऋण लगानी गर्न सफल भएको जानकारी दिनुभयो। आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल सदस्य संख्या गत वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भई १ लाख २५ हजार ४ सय ८४ पुगेको छ भने कुल पूँजी १० अर्ब २ करोड ५१ लाख ९५ हजार पुगेको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा संस्थाले १९ करोड ८७ लाख २१ हजार २५३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको र सो अवधिमा सेयर पूँजी ८३ करोड ९० लाख १६ हजार ५०० रुपैयाँ पुगेको पनि उहाँले जानकारी दिनुभयो।
लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदीले सहकारीका सदस्यहरूबिच प्रविधिको प्रयोग र पहुँचमा उल्लेखनीय वृद्धि भएको बताउँदै वित्तीय कारोबारमा डिजिटल प्रणालीको प्रयोगले पारदर्शिता र सहजता बढाएको उल्लेख गर्नुभयो। उहाँले संस्थाले कागजी अभिलेखलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्नुका साथै जोखिम व्यवस्थापनका लागि विशेष कोष गठन गरेको पनि जानकारी दिनुभयो।
कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष ओमप्रसाद सापकोटा, संस्थापक अध्यक्ष खेमराज सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमकोे सहजीकरण प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा सेयर सदस्य, साधारण सदस्य तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
त्यस्तै, विकू बचत तथा ऋण सहकारी संस्थाले इकाइ १ अन्र्तगत असोज २३ गते थारु राष्ट्रिय संग्रालय परिसर, कावासोती डण्डा र असोज २४ गते इकाइ २ अन्र्तगत भेडाबारी खेल मैदान (गौचरन), गैंडाकोट ११ भेडाबारीमा साधारण सभा सम्पन्न गरिसकेको छ ।