कालिका मन्दिर कालिका आश्रममा श्रीमद्देवीभागवत महापुराण नवाहज्ञानयज्ञ एवं साधारण सभा 

२०८२ असोज १३ सोमबार १६:२३:०० मा प्रकाशित


गैंडाकोट नगरपालिका वडा नं. ८ स्थित श्रीकालिका मन्दिर कालिका आश्रमको २९ औं साधारणसभा आज भएको छ । कालिका मन्दिर कालिका आश्रमलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना सहित २९ औँ साधारण सभा सम्पन्न भएको मन्दिरका अध्यक्ष पिताम्बर सापकोटाले बताउनुभयो ।

 
वैदिक विधिपूर्वक समाजमा धार्मिक, आध्यात्मिकभाव जागरण गराई सनातन हिन्दू धर्मसंस्कृतिको प्रचार–प्रसारपूर्वक व्यक्ति, समाज र राष्ट्रमा शान्ति स्थापित गराउने शुभसंकल्पकासाथ श्रीमद्देवीभागवत महापुराण नवाहज्ञानयज्ञ चलिरहेको मन्दिरका अध्यक्ष पीताम्वर सापकोटाले जानकारी दिनुभयो । आरती, पुष्पाञ्जलि, स्थानीय मठमन्दिरका कलाकार एवम् विशिष्ट कलाकारहरूबाट संगीतमय भजन–संकीर्तन सहित चलिरहेको नवाह ज्ञानयज्ञमा उपस्थित भई कथा श्रवण गरी लाभान्वित हुनुहुन उहाँले अनुरोध गर्नुभयो ।


ज्ञानयज्ञमा प्रमुख वाचक पण्डित ईतिहासपूर्णाचार्य श्री आनन्द प्रसाद नेपालबाट पाठपारायण, उपवाचक पं. सुरेश अर्यालबाट संगीतमय कथा–प्रवचन भइरहेको कालिका मन्दिर कालिका आश्रमका पशुपति सापकोटाले जानकारी दिनुभयो ।  


सचिव दया सागर सुवेदीको प्रगती प्रतिवेदन पदमा सुवेदीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मीप्रसाद कँडेलले प्रस्तुत गर्नुभएको थियो । 


कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले एकता सबैमा भाइचारा र सहअतित्वको वातावरण निर्माण हुनपर्ने बताउनुभयो । मन्दिरले धार्मिक पर्यटकिय महत्तव बढाएको बताउनुभयो । 
गैँडाकोट ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, ७ का वडाध्यक्ष होमनाथ सापकोटा, समाजसेवी ओमप्रसाद सापकोटा, वेदप्रसाद गौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 


अहिले मन्दिर परिसरमा भजनकीर्तन एवं पञ्जेबाजासहित फूलपाती भित्र्याउने कार्यक्रम रहेको कालिका मन्दिर कालिका आश्रमका कोषाध्यक्ष लक्ष्मीप्रसाद कँडेलले जानकारी दिनुभयो ।